शनिबार, पुष २७, २०८१
14:43 | २०:२८

चर्चित मुटुरोग विशेषज्ञ डा. कोइरालाका साथ बेलायतमा च्यारिटी डिनर तयारी

नेपाली लिङ्क जुन १३, २०२३

लन्डन – नेपालका चर्चित मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको उपस्थितिमा आउँदो जुलाई ८ तारिख शनिबार च्यारिटी डिनर गर्ने तयारी भएको छ।

अल्डरशटस्थित सुशीमोतो रेस्टुरेन्टमा अपरान्ह ५ बजेदेखि च्यारिटी डिनर आयोजना गर्न लागिएको आयोजक काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) यूके निर्देशक समितिले जनाएको छ।

जुलाई पहिलो साता बेलायत आउन लागेका डा कोइराला च्यारिटी डिनरमा आफै उपस्थित हुने र उनले उक्त परियोजनाको हालसम्मको प्रगति र भावी योजनाबारे जानकारी गराउने कियोच यूके निर्देशक समितिका संयोजक ओजेश सिंहले बताए।  सो कार्यक्रममा बेलायतस्थित चर्चित नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति पनि दिनेछन्।

नेपालमा गत १५-२० वर्ष यता बाल स्वास्थ्य सेवा प्रवाहमा सुधार भएपनि त्यस्तो सेवा राजधानीमा मात्रै सीमित रहेको र बालबालिकाको ज्यान जोगाउन देशभरि नै गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक भएकाले साथीहरुसंग मिलेर डा. कोइरालाले यो अभियान शुरु गरेका हुन् ।

उक्त अभियान अन्तर्गत अहिले  दमकमा बाल अस्पताल निर्माण गरी सेवा पनि शुरु भइसकेको छ। त्यस्तै  काठमाडौँको हेपाली हाइटमा पनि सबै नेपालीको पहुँच हुन सक्ने एउटा सुविधासम्पन्न बाल अस्पताल निर्माण गर्ने काम अगाडि बढिरहेको छ।

कियोच यूके निर्देशक समितिकी सह-संयोजक लक्ष्मी राई (लारा) ले पवित्र उद्देश्यले गर्न लागिएको उक्त च्यारिटी डिनरमा सहभागी हुन बेलायतस्थित सबै संघसंस्थालाई आग्रह गरिन् ।

थप जानकारीका लागि:
कियोच वेबसाइट-  https://www.kioch.org.np

च्यारिटीका लागि: https://www.justgiving.com/campaign/kioch

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू