शनिबार, पुष २७, २०८१
14:47 | २०:३२

लन्डनमा योग सत्र संचालन गर्दै आचार्य बालकृष्ण

नेपाली लिङ्क जुन १, २०२३

लन्डन – पतन्जली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले २२ जुनमा लन्डनको ह्यारोमा योग सत्र संचालन गर्ने भएका छन्।

हाम्रो स्वाभिमान ट्रष्ट युकेको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा योग, प्राणायाम सिकाइनुका साथै आचार्य बालकृष्णले आयुर्वेदको महत्व र स्वस्थ जीवन शैलीको बारेमा पनि चर्चा गर्ने छन्।

२२ जुनको कार्यक्रम तयारीको सिलसिलामा मंगलबार आयोजित जुम बैठकलाई भारतको हरिद्वारबाट योग ऋषि स्वामी रामदेव तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले सम्बोधन गरेका थिए।

स्वामी रामदेवले युके, अष्ट्रेलिया, युरोप, जहाँ बसेका भए पनि नेपाली समुदायमा आफ्नो संस्कृतिप्रति अगाध निष्ठा रहेको आफुले पाएको बताए। 

उनले नेपाली भाषा, नेपाली संस्कृति तथा परम्परा सनातन परम्परा हो भन्दै आफ्नो पारिवारिक तथा सामाजिक जिम्मेवारी बहन गर्नुका साथै आफ्नो संस्कृति, सभ्यता र परम्परा जोगाउनु  पारमार्थिक उत्तरदायित्व रहेको बताए। 

आचार्य बालकृष्णले संसारभरि रहेका नेपालीलाई जोड्न शुरु गरेको प्रयासप्रति आफ्नो पूर्ण समर्थन रहेको पनि उनले बताए।

आयुर्वेद शिरोमणि आचार्य  बालकृष्णले  नेपालीहरुको रगत पुरुषार्थ  र समर्पणको रगत हो भन्दै  हाम्रो स्वाभिमान ट्रष्टले  विश्वव्यापी रुपमा  नेपाली र गोर्खाली समुदायलाई  जोड्ने लक्ष्य लिएको बताए। 

आफ्नो पहिचानको रक्षा गर्नुका साथै जहाँ पनि गोर्खाली र नेपाली साधनविहीन छन्, उनीहरुको जीवन उन्नतिमा सघाउन ट्रष्टले काम गर्ने छ,’ उनले भने।  उनले छिट्टै बेलायतमा भेट्ने अपेक्षा पनि व्यक्त गरे।

गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपाली भाषीहरुलाई सांस्कृतिक  रुपले जोड्ने आचार्य बालकृष्णजीको अभियान प्रशंसनीय रहेको बताए।  

उनले गैरआवासीय नेपाली संघले संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न प्रोत्साहित गरिरहेको बताउंदै हाम्रो स्वाभिमान ट्रष्टसंग सहकार्य गर्न आफूहरु उत्सुक रहेको बताए।

यसै गरी योगाचार्य मोहन कार्कीले विभिन्न कारणले समाज विभाजित भैरहेको अवस्थामा संसारभरि रहेका नेपाली समुदायलाई जोड्न यो संस्थाको अवश्यकता महसुस गरिएको बताए । उनले सबै नेपालीहरु आत्मनिर्भर बन्न सक्ने गरी मोडेल तयार गर्न र एक अर्काको पुरक बन्न आग्रह गरे।

पतंजली योगपीठ युकेकी ट्रस्टी श्रीमती सुनिता पोद्दारले नेपाली समुदायलाइ कसरी समृद्ध बनाउने र एक आपसमा  कसरी सहयोग बढाउने भन्नेबारे छलफल गर्न आग्रह गरिन्।

बैठकमा तदर्थ समितिका महासचिव अर्जुन कटुवालले युकेस्थित सबै नेपाली संघसंस्थाहरुलाई कार्यक्रममा सहभागी हुन् आमन्त्रण गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू