नागरिकता विधेयक प्रमाणीकरण भएकामा गैरआवासीय नेपाली हर्षित


काठमाडौं, १७ जेठगैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली हर्षित भएको जनाएको छ ।
संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई नेपालको संविधान २०७२ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको बताए ।
नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उनको भनाइ छ ।
“राष्ट्रपति पौडेलको यस कदमले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि हामी विश्वस्त छौँ”, कार्यकारी अध्यक्ष डा केसीले भने, “विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्रयाउन थप दायित्व बोध गरेका छौँ ।”
विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपालीको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागिसमेत ठोस वातावरण तयार पार्ने उनको विश्वास छ । संघले नागरिकता विधेयकलाई निष्कर्षमा पुरयाउन भूमिका निर्वाह गरेकामा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सम्पूर्ण राजनीतिक दललगायत कानुनविद्प्रति कृतज्ञता व्यक्त गरेको छ ।
राष्ट्रपति पौडेलले आज नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५