शनिबार, मंसिर ८, २०८१
17:29
|
२३:१४
एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व
रासस
मे ३०, २०२३
नाम्चे (सोलुखुम्बु), १५ जेठ–विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन् । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम भए ।
योसहित उनी यो प्रतियोगितामा तीन पटक विजेता भइसकेका छन् । सोही दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दलबहादुर कँुवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेन्ड लगाउँदै नेपालकै उमेश राई तृतीय भए ।
७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिँदै दोस्रो एवं नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिँदै तेस्रो भए ।
एक्काइस किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम भएकी छन् । उनले तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गरेकी थिइन् । अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भए ।
४२ किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेन्ड लिँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेन्ड लिँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिँदै चीनका म्यथ्यु विलियम तेस्रो भए ।
बयालीस किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेन्ड लिँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताए ।
यसपल्ट ६९ नेपालीसहित २८ देशबाट दुई सय चार जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक विक्रम पाँडे काजीले जानकारी दिए । म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशबाट धावकले भाग लिएको उनले बताए ।
प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्ष उमेरकाले पनि भाग लिएको उनले जानकारी दिए । सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ । तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए । हिमालय आरोहणको ७०औँ वर्षको विशेष अवसर पारेर यो पटक म्याराथनबाहेक अन्य कार्यक्रम पनि गरिएको उनको भनाइ छ ।
एभरेष्ट म्याराथन कर्पोरेट म्याराथनको रूप मात्र नभएर पर्यटन प्रवर्धनमा गरिँदै आएको अध्यक्ष पाँडेले बताए । “एभरेष्ट म्याराथनले नेपाललाई विश्वमै चिनाउन सहयोग गर्दै आएको छ । नेपालमा पर्यटक भित्रयाउन म्याराथन सहयोगी भएको छ”, उनले भने, “प्राकृतिक सुन्दरता, मनोरम दृश्य र जोखिमपूर्ण भएकाले पनि एभरेष्ट म्याराथनले छुट्टै परिचय स्थापित गरेको छ ।”
सगरमाथा आरोहणको ७० वर्षको विशेष अवसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, न्यूजिल्याण्डका महावाणिज्य दूत लिजा छोय्ग्याल र अमेरिकी दूतावासका ज्यसोन मिक्सले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र लालीगुराँस रोपेका थिए ।
म्याराथनका लागि बुद्ध जन्मस्थल लुम्बिनीबाट लुम्बिनी टर्चमा बुद्ध ज्योति बाली सगरमाथा आधार शिविर पुरयाइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५