सरकारी निवासमा भोज गरेपछि जापानी प्रधानमन्त्रीका छोरा बर्खास्त


टोकियो, १५ जेठ–जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् ।
प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका हुन् ।
“गत वर्ष सार्वजनिक स्थानमा उनले गरेको व्यवहार राजनीतिकरूपमा अनुपयुक्त थियो, उनलाई पदमुक्त गर्ने निर्णय भएको छ,” प्रधानमन्त्री किशिदाले पत्रकारमाझ भने ।
यही वैशाख १८ गतेदेखि लागू हुनेगरी शोतारोले राजीनामा गर्ने जानकारी पनि उनले दिए ।
समाचार सार्वजनिक भएपछि ३२ वर्षीय छोरा शोतारोलाई प्रधानमन्त्रीले उनको हर्कतका निम्ति हप्काएका थिए । तर विपक्षीहरूको निरन्तरको आलोचनाका कारण उनले उनलाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।
यसअघि पनि शोतारोले युरोप भ्रमणमा गएका बेला सरकारी सवारी साधन प्रयोग गरेर किनमेल गरेका विवरण सार्वजनिक भएपछि प्रधानमन्त्री किशिदामाथि विपक्षीले तीक्ष्ण प्रहार गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५