एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी



राष्ट्रपति रेसेप तैयप एर्दोगान । तस्बिर एएफपी
अङ्कारा, १५ जेठ–टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् ।
एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन् ।
उनले भने– ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गरयौं । म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन्’, उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने ।
उता निर्वाचितमा पाराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा “वास्तविक प्रजातन्त्र” नआएसम्म लडाइँ जारी राख्ने बताएका छन् ।
‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो। हामी डरको वातावरणमा झुकेका छैनौं। यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो’, उनले भने ।
एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेका छन् भने विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।

एर्डोगानका समर्थकहरु राष्ट्रपति कार्यालय अगाडि अंकारामा । तस्बिर- सिन्हवा
अमेरिकी राष्ट्रपतिद्वारा बधाई
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।
बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।
बाइडेनले ट्वीटमा लेखेका छन्, ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुनः निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहान्छु ।’
आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो। त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।
ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्– ‘राष्ट्रपति एर्दोगानलाई पुनः निर्वाचित भएकामा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्किए एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५