एमालेले सदन अवरुद्ध गरेपछि शीर्ष नेताहरु मन्त्रिपरिषद् कार्यालयमा
काठमाडौं, १३ जेठ–प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदन सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ ।
प्रमुख तीन दलबीच पशुपतिमा राखिएको सुनको जलहरीका सम्बन्धमा सरकारका तर्फबाट सदनलाई प्रष्ट पार्ने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा पशुपतिमा राखिएको सुनको जलहरीका विषयमा प्रष्ट पार्ने सहमति भएको हो ।
जलहरीका सम्बन्धमा संसद्मा प्रकट भएको अभिव्यक्तिलाई संसद्को ‘रेकर्ड’बाट हटाउने सहमति भएको बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक गिरी सहभागी थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५