शनिबार, पुष २७, २०८१
16:54 | २२:३९

बेलायतको अल्डरसट शिव मन्दिरमा नियुक्त भए स्थायी पूजारी

नेपाली लिङ्क मे १७, २०२३

लन्डन । लामो समयको प्रयास पछि शिव मन्दिर अल्डरसटमा मन्दिरको दैनिक नित्य पूजा अर्चनाका निमित्त स्थायी पूजारी नियुक्त गरिएको छ ।

नेपालबाट आएका पण्डित पवन प्रसाद दहाल (शास्त्री) लाई गत १५ तारिख सोमबार २०२३ बाट बिहान ८ बजे देखि साँझ ८ बजेसम्म पुरै दिन भक्तजनको सेवामा उपलब्ध हुने गरी नियुक्त गरिएको हो ।

शिव मन्दिर अल्डरसटका उपाध्यक्ष विक्रम भट्टराईको अध्यक्षतामा आयोजित छोटो परिचयात्मक कार्यक्रममा १६ तारिख मंगलबार साँझ मन्दिर स्थापनार्थ सुरुवातबाट अहोरात्र खटिएका शिव मन्दिर अल्डरसटका संरक्षक, ट्रष्टी, रसमोर बरो काउन्सिलका काउन्सिलर जीव बेल्वासेबाट नवनियुक्त पुजारी पवन प्रसाद दहाललाई शिवनामी लगाई स्वागत गरेका थिए ।

उक्त अवसरमा काउन्सलर बेल्बासेले पण्डित दहालसमक्ष मन्दिरको छोटो इतिहास बताउंदै पूजारी नहुँदा मन्दिर र स्थानीय सनातनी आस्थामा विश्वास गर्नेहरुले भोगेका अप्ठ्यारा स्मरण गरे । साथै काउन्सलर बेल्वासेले पूजारी र मन्दिर व्यवस्थापन समितिबीच अत्यन्त पारदर्शी, बेलायतको नियम अनुसार सुविधा र भक्तजनहरुसंग मन्दिरको आस्थामा आवश्यक ध्यान पुरयाउन सुझाव दिए ।

सोही अवसरमा बेल्वासेले बितेको लगभग पाँच वर्ष देखि दैनिक स्वयंसेवकका रुपमा सेवा गरेका ८७ वर्षीय भिमबहादुर लामिछाने गुरुङ्गलाई उनको योगदानका लागि सम्पूर्ण मन्दिर परिवार र समुदायका तर्फबाट धन्यवादसहित शिवनामी लगाइदिए ।

त्यसपछि शिव मन्दिर अल्डरसट तथा साई सेन्टर फार्नबोरोका तर्फबाट मन्दिरकी ट्रष्टी, साई सेन्टरकी संयोजक समाजसेवी सुष्मा गुरुङ्गले फूलको गुच्छा दिएर स्वागत गरिन् । मन्दिर कार्यसमितिका महासचिव हरी भट्टराईले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विक्रम भट्टराईले सबैप्रति धन्यवाद दिंदै पूजारी दहाललाई मन्दिर कार्यसमिति र व्यक्तिगत रुपमा स्वागत गरे ।

‘हामी सबैको सपना हाम्रो आँफ्नै मन्दिर स्थापना गर्ने योजना साकार हुने क्रममा छ तथापि यसलाई चुस्त र दुरुस्त सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक रहने छ’, भट्टराईले सहयोग निरन्तरताको अपिल गर्दै भने ।

शिव मन्दिर अल्डरसटका संरक्षक रोहित गुरुङ्ग, ट्रष्टी तथा स्थानीय व्यवसायी शंकर श्रेष्ठ, एनआरएनए यूकेका निवर्तमान प्रमुख संरक्षक शेरबहादुर सुनार, मन्दिरका ट्रष्टी तथा बीसीसी यूके (बुद्ध गुम्वा अल्डरसट) अध्यक्ष हर्क गुरुङ्ग, ट्रष्टी एबी गुरुङ्ग, संरक्षक डा. कुमार, ट्रष्टी अरविन्द शहानी दम्पति, अनुप वर्मा, मन्दिरका कोषाध्यक्ष निरज तिवारी, कार्यसमिति सदस्य, व्यवसायी किशोर गुरुङ्ग, ट्रस्टी हरिकुमार श्रेष्ठ, ट्रष्टी रामचन्द्र (सुर्जे) गुरुङ्ग, राजन मल्ल परिवार, पवित्रा भट्टराई लगायत उपस्थित परिचय आदान–प्रदान कार्यक्रममा पूजारी दहालले मन्दिरमा इश्वर र भक्तजनहरुको सेवा गर्ने मौका दिएकामा कृतज्ञता व्यक्त गरे ।

अनुशासन, नैतिकता र इमान्दारीमा कँही कतै सम्झौता नगर्ने प्रण गर्दे उनले मन्दिरलाई आवश्यक हरेक सेवामा तत्पर रहने प्रण गरेका थिए ।

शिव मन्दिर अल्डरसट प्रात ८.०० देखि सांझ ८ बजेसम्म खुल्ला रहने छ । अब देखि मन्दिरमा प्रात आरती प्रत्येक दिन बिहान ठिक ९ बजे अनि साँझ ठिक ७ बजे हुने उपाध्यक्ष भट्टराईले जनाए ।

बिवाह, ब्रतवन्ध, चुडा, छेवर, शुभ अन्नप्रासन जन्मोत्सव पूजा, वैवाहिक वर्षगाठ, सवारी साधनको पूजा, गृहप्रवेश, रुद्री, स्वस्तिशान्ति, गुन्युचोली, तिथि श्राद्ध, पितृदोष निवारण, वास्तु पूजा, शिलान्यास एवं ज्योतिषीय परामर्शअन्तर्गत चिना टिपन लेख्ने, ग्रहदशा हेर्ने कार्य, बैवाहिक जीवन, शुभ, लाभ, हानी, शुभ रङ्ग, शुभ अंक, ग्रह दोष समाधान लगायतका सेवा उपलब्ध हुनेछ ।

यसका लागि शिव मन्दिर अल्डरसटको ल्याण्डलाइन नम्वर- 01252 404304 वा पवनप्रसाद दहाल (पूजारी) को नम्बर 07467600661 मा सम्पर्क गर्न सकिनेछ ।

यदि जो कोही भक्तजनहरुले आफ्नो घरमा कुनैपनि वैदिक अनुष्ठान (पूजा), पितृकार्य लगायत कुनैपनि शुभकार्य गराउन पण्डित दहाललाई बुकिंग गर्न चाहे मन्दिरमा सम्पर्क गरि मन्दिर व्यवस्थापनले तोकेको दस्तुर मन्दिरको खातामा जम्मा गरेर पूजारीबाट वैदिक कार्य सम्वन्धि सेवा लिन सकिने मन्दिर व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू