शनिबार, पुष २७, २०८१
13:55 | १९:४०

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानद्वारा देशव्यापी विरोध प्रदर्शन आह्वान

रासस/सिन्ह्वा मे १४, २०२३

इमरान खान । तस्विर- एएफपी

लाहोर, ३१ वैशाख–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गरेका छन् ।

यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उनलाई रिहा गरिएको थियो ।

गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक समयका क्रिकेट सुपरस्टारको पक्राउलाई सर्वोच्च अदालतले ‘गैरकानुनी’ ठहर गरेपछि उनलाई शुक्रबार जमानतमा रिहा गरिएको थियो ।

गिरफ्तारीबाट आक्रोशित समर्थकहरूले सरकारी भवनहरूमा आगजनी गरेका थिए भने सडकहरू अवरुद्ध गरेका थिए । उनीहरूले सेनाको सम्पत्तिमा क्षतिसमेत पुरयाएका थिए ।

“स्वतन्त्रता सजिलै आउँदैन । हामीले त्यसलाई खोस्नु पर्छ । यसका लागि सबैले त्याग गर्नुपर्छ,” शनिबार राति युट्युबमा प्रसारण गरिएको सम्बोधनमा उनले भने ।

उनले समर्थकहरूलाई आइतबार साँझ स्थानीय समयानुसार ५:०० बजे एक घण्टाका लागि देशभरका ‘आफ्ना सडक र गाउँहरूको चोकमा’ विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

पाकिस्तान पाँच दिनसम्म चलेको कोलाहलपछि आइतबार बिहान शान्त थियो । खानले तत्काल चुनावका लागि बुधबार नै चुनावी अभियानमा फर्कने प्रतिबद्धता जनाएका थिए ।

महिनौंदेखि पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेताले सेनाविरुद्ध अवज्ञाको अभियान चलाइरहेका छन् ।

गत वर्ष आफूविरुद्ध भएको हत्याप्रयासमा वरिष्ठ अधिकारीको संलग्नता रहेको बताएको केही घण्टापछि गत मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

पाकिस्तानको शक्तिशाली सेनाले आफ्नो ७५ वर्षको इतिहासको लगभग आधा भाग देशमाथि प्रत्यक्ष रूपमा शासन गरेको छ र राजनीतिक प्रणालीमाथि शक्ति प्रयोग गरिरहेको छ ।

“सेना प्रमुखको कदमले हाम्रो सेनालाई नराम्रो बनाएको छ । यो उहाँको कारणले हो, मेरो कारणले होइन,” खानले लाहोरस्थित आफ्नो घरबाट गरेको सम्बोधनमा भने । यद्यपि उनले सेवारत प्रमुखलाई सङ्केत गरेका हुन् वा उनका पूर्ववर्तीलाई यो स्पष्ट गरिएको छैन । पूर्वप्रधानमन्त्री खानले आफ्नो बर्खास्तीका लागि सेनाको भूमिकामाथि प्रश्न उठाएका थिए ।

यसअघि उनले पत्रकारसँग कुरा गर्दै आफूलाई पक्राउ गर्नुमा ‘एक व्यक्ति, सेना प्रमुख’ को हात रहेको बताएका थिए ।

तर खानले प्रदर्शनमा सेनाका प्रतिष्ठानहरूमाथि भएको आक्रमणबाट आफूलाई टाढा राख्दै आफ्नो पार्टीका कार्यकर्ताहरू संलग्न रहेको अस्वीकार गरे । उनले हिंसाको स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।

खानले लगाएको आरोपको खण्डन गर्दै आएको सेनाले शनिबार संस्थाविरुद्ध ‘गलत धारणा’ सिर्जना गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।

यस हप्ता भएको हिंसामा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रहरी र अस्पतालले जनाएका छन् ।

पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तमा सयौं प्रहरी अधिकारी घाइते हुनुका साथै चार हजारभन्दा बढीलाई हिरासतमा लिइएको अधिकारीहरुले बताएका छन् ।

खानका एक वकिलका अनुसार प्रदर्शन सुरु भएयता पीटीआईका कम्तीमा १० जना वरिष्ठ नेतालाई पक्राउ गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू