शनिबार, पुष २७, २०८१
16:51 | २२:३६

बीसीसी यूकेले रब्जम रिन्पोछेको विशेष उपस्थितिमा मनायो बुद्ध जयन्ती

नेपाली लिङ्क मे १०, २०२३

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले विविध कार्यक्रमका साथ २५६७ औं बुद्ध जयन्ती मनाएको छ । गत मे ५ शुक्रबार अल्डरसटस्थित एम्पायर हलमा बुद्ध जयन्ती मनाइएको हो ।

कार्यक्रममा सहभागी भक्तजनहरुले काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख एवं उक्त कार्यक्रमका प्रमुख अतिथि परमपावन हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेद्वारा इम्पावरमेन्टर तथा लङ लाइफ, गुड फर्चुन एण्ड वीज्डमको अभिषेक (वाङ) प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर जोन मार्स, विभिन्न टुल्कु, खेन्पो, लोपेन गुरुहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता थियो ।

दुई चरणमा आयोजना गरिएको उक्त बुद्ध जयन्तीको बिहान ९ देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका गुरु टुल्कु जिग्मे सामतेन र खेन्पो फुर्बा तेम्बाले गणचक्रको पूजा गरेका थिए । सो अवसरमा आर्मी फोर्सस्को बुद्धिष्ट च्याप्लीङ्गको तर्फबाट डा. सुनिलको विशेष उपस्थितिमा सो च्याप्लिङ्गको लुन्दा झुण्ड्याइएको थियो ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथि हिज होलिनेश क्याब्जे रिन्पोछे, स्थानीय काउन्सिलर मेयर जोन मार्स, बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन, बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा परमपावन हिज होलिनेश क्याब्जे रिन्पोछेलाई पाइपर धुनका साथसाथै पुष्प गुच्छाले स्वागत गरेका थिए ।

कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी यूकेको स्थापना, उद्देश्य, योजनालगायत विषयमा जानकारी गराउँदै प्रमुख अतिथि हिज होलिनेश रिन्पोछेलगायत अतिथिहरुलाई स्वागत गरेका थिए । बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले हिज होलिनेश रिन्पोछेको जीवनबारे जानकारी गराएका थिए ।
बेलायतका विभिन्न शहर, चीन, युरोप तथा अमेरीकाबाट आएका भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा बीसीसी यूकेका पदाधिकारी तथा आमाहरुले श्रद्देय हिज होलिनेश रिन्पोछे गुरुलाई मण्डला अर्पण गरेका थिए ।

कार्यक्रममा बीसीसी यूके गुम्बालाई व्यक्तिगत रुपमा बिना ब्याज ऋण उपलब्ध गराउने र नगद तथा जिन्सी प्रदान गर्ने दानबीरहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । साथै, हालै बीसीसी यूकेको नयाँ ट्रष्टीज बनेका सदस्यहरुलाई समेत सदस्यता प्रदान गर्दै खादाले स्वागत गरियो ।

कार्यक्रममा बीसीसी यूके आमा समूहकी संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ र आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङको नेतृत्वमा रहेको बीसीसी यूकेको सुनको बत्ती बनाउने अभियानमा विभिन्न दाताहरुले सुन प्रदान गरेका थिए ।

बीसीसी यूकेका उपाध्यक्ष रोविन गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मेयर मार्सले शुभकामना मन्तब्य दिएका थिए भने हिज होलिनेश क्याब्जे रिन्पोछेले बौद्ध धर्म सम्बन्धी प्रवचन दिए ।

उक्त कार्यक्रम सम्पन्न गर्न बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्षहरु लेप्टेन नारायण प्रसाद गुरुङ, नरेश गुरुङ, धर्म तामाङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ तथा सल्लाहकारहरु, ट्रष्टीज्, सिंगो कार्यसमिति, आमा समूहलगायतले विशेष भूमिका खेलेका थिए ।

बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव मेजर हितमान गुरुङ र आमा सचिव शारदा गुरुङले सञ्चालन गरेका थिए । –पूर्ण गुरुङ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू