मंगलबार, असोज १, २०८१
16:16 | २१:०१

बेलायती क्लवमा उदाउंदै नेपाली चेली अस्मिता

नेपाली लिङ्क मे १०, २०२३

लन्डन । ब्रिटिश आर्मीमा काम गरिरहंदा अमृत आलेलाई आफ्ना सन्तानको उज्ज्वल भविष्यको चिन्ताले पिरोल्यो । त्यतिबेला आर्मी छाडेपछि नेपाल नै फर्कनु पर्दथ्यो किनकि बेलायतले अहिलेजस्तो आवासीय अधिकार दिइसकेको थिएन । अमृतले सोचे आफ्ना छोराछोरीका लागि भएपनि बेलायतमै ‘सेटल्ड’ नभइ हुन्न । 

तर, कसरी ? उपाय थियो वर्क परमिट । सन् २००३ को अन्त्यतिर उनले १९ वर्ष लामो ब्रिटिश आर्मी जागिर छाडेर नेपाल फर्किने निधो गरे अनि वर्क परमिट भिजामा पुनः बेलायत आए ।

ब्रोडकाष्ट इन्जिनियर अमृतको त्यो निर्णयले सांच्चिकै अहिले आफ्ना सन्तानको प्रगति गर्वलायक छ, विश्वले चिनेको छ । 

तनहुं दमौली स्थायी घर भएका अमृत र वसन्तीकी एक्ली छोरी अस्मिता आले यतिखेर ब्रिटिश फुटबल क्लवमा आवद्ध भएर खेलिरहेकी छिन् भने एक्लो छोरा असिम आले ब्रिटिश आर्मीमा आइएस इन्जिनियर छन् र अण्डर २३ टिमबाट फुटबल खेल्छन् ।    

गत अगष्ट २०२१ मा १९ वर्ष छंदा अस्मिता टोटेनहम हटस्पर फुटबल क्लवमा अनुवन्ध भइन् । उनको क्लवसंग सन् २०२३ सम्म प्रोफेशनल सम्झौता छ । क्लवले एफए वुमन्स् सुपर लिग खेलिरहेको छ जहां डिफेण्डरको भूमिकामा छिन् अस्मिता । १३ नम्बरको जर्सीमा मैदान उत्रिन्छिन् उनी ।

‘एउटा प्रतिष्ठित क्लवमा आवद्ध हुन पाउनु मेरा लागि ठूलो उपलब्धि ठानेको छु’, २१ वर्षीया अस्मिता भन्छिन्, ‘मेरो फुटबल करिअरमा क्लवले मलाई धेरै सिकाएको छ । नाम र जीवनशैली परिवर्तन गरिदिएको छ ।’ 

इंग्ल्याण्ड युथ टिममा छंदा राम्रो प्रदर्शन गरेकी अस्मिता इंग्ल्याण्ड अण्डर १९ स्क्वाडको अभिन्न अंग बनिन् जसले सन् २०१९ मा स्कटल्याण्डमा भएको युरोपियन च्याम्पियनसीप फाइनलमा भिडेको थियो । सन् २०१९, ०२० मा बारक्लेज एफए वुमन्स् सुपर लिगले उनलाई धेरै चर्चा दिलाएको थियो ।

टोटेनहम हटस्पर क्लवले अहिलेसम्म १२ उपाधि जितेको छ । त्यसमध्ये सन् २०१६-०१७ सिजनको एफए वुमन्स् प्रिमियर लिग थियो । 

तस्बिर- गेट्टी इमेजेज

त्यसो त अस्मिता ७ वर्षदेखि नै फुटबल खेलमा आवद्ध भइन् । स्थानीय ब्वाइज टिममा केही समय खेलेपछि एस्टन भिल्लाबाट उनको फुटबल यात्रा निरन्तर अगाडि बढ्यो । ८ वर्षदेखि उनी एस्टन भिल्लामा आवद्ध भएकी हुन् । 

१६ वर्षदेखि एस्टन भिल्लाबाट वुमन्स सुपर लिगमा छिरेकी अस्मिताले अण्डर १५, १६, १७, १८, १९ र २१ हुंदै अहिले इंग्ल्याण्ड टिमबाट अण्डर २३ खेलिरहेकी छन् । एस्टन भिल्लाले १८ वर्ष पुगेपछि उनलाई प्रोफेशनल कन्ट्रयाक्ट दिएको थियो ।

सातामा ५ दिन प्रशिक्षण र वीकेन्ड शनिवार वा आइतवार एक दिन म्याच हुने भएकाले उनलाई एकदिनबाहेक फुर्सद नै छैन् । 

व्यस्त खेल जीवनले पढाइ भने रफ्तारमा लैजान उनलाई अलिक अप्ठेरो परिरहेको छ । हाल बर्मिङहमको आस्टन युनिभर्सिटीमा अकाउन्टिङ एण्ड फाइनान्समा ब्याचलर अध्ययनरत उनले समय अभावका कारण ‘डिस्टयान्स् लर्निङ’ सुविधा लिएकी छन् यद्यपि तेश्रो वर्ष ग्याप राखेकी छन् । 

इंग्ल्याण्डको मेन टिममा आवद्ध भएर अन्तर्राष्ट्रिय म्याच खेल्ने उनको धोको छ । 

नेपाल गएर मैत्रीपूर्ण खेल खेल्ने रहर पनि छ तर समय मिलाउन हम्मे हम्मे परिरहेको छ । एस्टन भिल्लामा रहंदासम्म उनको उमेर सानो थियो । परिवारका साथ दुई तीन वर्ष अवधिमा नेपाल जान्थिन् उनी तर अहिले नेपाल नगएको ७ वर्ष जति हुन लागिसक्यो । 


अस्मिताका बाबु आमा मिडल्याण्डस्थित ननिटन बस्छन् अस्मिता भने लन्डनमा । खेल र तालिमको व्यस्तताले छोरीसंग राम्ररी समय बिताउन नपाएको बताउंछन् अमृत । छोरीको खेल हुंदा समय मिले स्टेडियममै पुग्छन् बाबु आमा । 

गत शनिबार उनीहरु ब्राइटन एण्ड होब अल्बियनबीचको लिग हेर्न गएका थिए टोटेनहम हटस्पर स्टेडियम । २-२ गोल बराबरीमा टुंगिएको उक्त खेलपछि मैदानमै गएर छोरीलाई हाइ हेल्लो गरे आम फ्यान सरह । तर, लामो बोल्ने र फोटो लिने मेसो मिलेन । 

‘छोरीलाई मिस गरिन्छ नि धेरै तर के गर्ने समय मिल्दैन’, आमा वसन्ती भन्छिन्, ‘धेरै जसो खेलमै बिजी हुन्छे । टेक्स्ट गरेर खवर आदानप्रदान हुन्छ ।’

गत वर्ष क्रिसमसका बेला ४ दिन ब्रेकमा अस्मिता घर ननिटन आएकी थिइन् । त्यसयता परिवारले छोरीसंग पर्याप्त समय बिताउन पाएको छैन् । 

‘१८ वर्ष नपुग्दासम्म घरबाटै जाने आउने गर्थिन् । आफैं कार हांक्न योग्य भएपछि परिवारसंगको भेटघाट पातलिएको छ’, बुबा अमृत भन्छन् । इन्टरनेशनल ब्रेकका बेला पनि अण्डर २३ बाट खेल्ने भएकाले उनी अन्यत्र गइरहने बाबु बताउंछन् । 

छोरीको प्रगतिबाट दंग छन् बाबुआमा । बाटोमा हिंड्दा अस्मिताको अभिभावक भनेर अटोग्राफ लिने पनि प्रशस्त भेटिन्छन् । ‘हामीलाई आफ्नै छोरी भएकाले नजिकको तीर्थ हेला जस्तो लाग्छ तर ब्रिटिशहरु ज्यादै महत्व दिन्छन्’, अमृतले गर्व गरे । 

छोरीको कमाइ कति छ उनीहरुले सोधेका छैनन् । अहिलेसम्म उनको कमाइ मागेका पनि छैनन् । लाइभ टिभी आउटसाइड ब्रोडकाष्ट गर्ने इन्जिनियर बाबु आफ्नै कमाइ राम्रो भएकाले पनि छोरीको आश गर्दैनन् ।   

सानैदेखि खेलप्रेमी हुन् अस्मिता । सानो छंदा क्रिकेट, ब्याटमिन्टन, नेटबल समेत खेल्थिन् उनी । अस्मिताले अण्डर ११ काउन्टी क्रिकेट समेत खेलिन् ।  

त्यसो त खेलप्रति पारिवारिक पृष्ठभूमि पनि थियो । बाबु अमृत नेपाल ब्रिटिश क्याम्पमा पोस्टिङ हुंदा साफ गेममा नेशनल टिमबाट छनोट भएर स्क्वास खेल्न पाकिस्तान समेत गएका थिए । तर त्यही बेला अमेरिकाको ट्वीन टावर आक्रमणले खेल भने हुन सकेन ।  

बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर आलेले गत वर्ष प्रतिष्ठित ब्राण्ड नाइकसंग सम्झौता हस्ताक्षर गरेकी थिइन्। विश्वका चर्चित खेलाडीहरुसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजन अवसर पाउने अस्मिता सम्भवतः पहिलो नेपाली हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू