आइतबार, पुष २८, २०८१
19:56 | ०१:४१

तमु समाज यूकेद्वारा पोखराकी उपमेयर मन्जुदेवी गुरुङ सम्मानित

नेपाली लिङ्क मे २, २०२३

लन्डन । तमु समाज यूकेले नेपालबाट बेलायत भ्रमणमा आएकी पोखरा महानगरपालिका उपमेयर मन्जु देवी गुरुङलाई स्वागत तथा सम्मान गरेको छ।

लन्डन वेम्बलीस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा गत १ मे सोमबार विशेष कार्यक्रमसहित स्वागत तथा सम्मान गरिएको हो ।

तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङको सभापतित्वमा महासचिव धरमबल गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उपमेयर मन्जु देवी गुरुङलाई संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ गुरुङले खादा, पुष्पगुच्छा, दोसल्ला र तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान पत्र प्रदान गरि स्वागत तथा सम्मान गरे ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर गुरुङले आभार सहित धन्यवाद व्यक्त गर्दै संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङलाई मायाको चिनो प्रदान गरिन् । उपमेयर गुरुङको स्वागत तथा सम्मानमा आमा समूहले तयार पारेको केक पनि काटिएको थियो ।

कार्यक्रममा तमु समाज यूकेका पूर्व अध्यक्ष शिवशरण गुरुङले संस्थाबारे संक्षिप्त जानकारी गराउदै स्वागत मन्तब्य दिएका थिए भने निरज गुरुङले प्रमुख अतिथि गुरुङको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रममा ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ संचालक तथा महासचिव धरमबल गुरुङले गरेका थिए। औपचारिक कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा उपस्थित तमु समाज यूकेका पूर्व अध्यक्ष शिवशरण गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, निवर्तमान अध्यक्ष शिव चन्द्र गुरुङ, सल्लाहकार तथा काउन्सिलर कमल गुरुङ, पूर्व उपाध्यक्ष बिजु गरुङ, पूर्व उपाध्यक्ष कन्य प्रसाद गुरुङ, सल्लाहकार बाबुराम गुरुङ, सल्लाहकार रामचन्द्र गुरुङ, सल्लाहकार लेख बहादुर गुरुङ आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, कार्यसमितिका विभिन्न पदाधिकारिहरु, आमा समूह, आजिवन सदस्यहरु र उपस्थित सबैले उप मेयर गुरुङलाई खादा, फूलमाला लगाई स्वागत तथा सम्मान गरेका थिए ।

प्रमुख अतिथि उपमेयर गुरुङले बेलायतको राजधानी लन्डनमा तमु समाज यूकेले आयोजना गरेको भव्य स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित भई सम्मानित हुँदा अत्यन्त खुशी लागेको बताइन् । उनले तमु समाज यूकेका संस्थापक अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु, आमा समूहका सबै पदाधिकारि तथा आमा दिदिबहिनीलाई आभार सहित कृतज्ञता ब्यक्त गरिन् ।

मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि उपमेयर गुरुङले परोपकारको क्षेत्रमा तमु समाज यूकेले गरेका कार्यको प्रशंसा गर्दै समाजको समृद्धि तथा उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना समेत दिएकी थिइन् ।

मन्तब्यकै क्रममा प्रमुख अतिथिले नेपालको वर्तमान संविधानमा गैर आवासीय नेपाली नागरिकताको ब्यवस्थाबारे बताएकी थिइन् ।

त्यसैगरि उनले नारी सशक्तिकरण र महिला नेतृत्वबारे प्रकाश पार्दै उपमेयरले पोखरा महानगरपालिकाको विविध समसामयिक जनचासोका विषयबारे सबैलाई जानकारी गराएकी थिइन् । आफ्नो नेपाली तथा तमु भाषा, भेषभूषा, कला – संस्कृति संस्कार संरक्षण, सम्वर्धन एवं विकासमा निरन्तर लागिरहन पनि उपमेयर गुरुङले सबैलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू