शनिबार, पुष २७, २०८१
01:59 | ०७:४४

अठार घन्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग-फोटोफिचर

रासस मे २, २०२३

मलेखु-पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ ।

धुनीबेँसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो ।

भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभर पनि काम गरेका थिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे छ । पूर्व–पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।

पूर्व–पश्चिमबाट राजधानी काठमाडौँ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेँसी, आदमघाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ ।

बाटो एकतर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौँ सवारी सडकमा रोकिएकाले ती सवारीसाधन पार गराउन अझै केही घन्टा लाग्ने प्रहरीको भनाइ छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुखमा जमिन भासिएर आउजाउ रोकिएपछि गजुरी गाउँपालिकाको जरेखेल र आदमघाट क्षेत्रमा रोकिएको सवारीको लाइन । धुनिबेसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ जोड्ने पुलमा सोमबार दिउसोदेखि १८ घण्टा भन्दा बढी सवारी आवागमन ठप्प थियो । मंगलबार बिहान १० बजेसम्म सवारी एकतर्फी खुलाईए पनि साँझसम्म नै टाढा टाढादेखि थुप्रिएका सवारीको चापले पृथ्वी राजमार्ग अस्तव्यस्त नै रह्यो । तस्बिर- शंकर श्रेष्ठ / रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू