शनिबार, पुष २७, २०८१
01:54 | ०७:३९

सिङ्गो देश परिवर्तनको पक्षमा छ: रवि लामिछाने

रासस अप्रिल २५, २०२३

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि भरतपुरमा आयोजित धन्यबाद सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्बिर-कृष्ण आचार्य/रासस

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । 

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए । 

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफू चुनाबी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए ।

सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै उनले संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा, भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । 

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो । उनले प्रतिस्पर्धी उम्मेदवार र मतदातालाई समेत आभार व्यक्त गरे ।

उनले भने, ‘निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।’

नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उनको भनाइ थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू