बेलायतको हडर्सफिल्ड विश्वविद्यालयमा नेपालबारे चिन्तन
लण्डन । बेलायतमा हडर्सफिल्ड विश्वविद्यालयमा नेपालका विभिन्न विषयमाथि चिन्तन गर्न अध्येताहरु जम्मा भएका छन् । सोमबार र मंगलबार गरी दुई दिनसम्म सञ्चालन हुने नेपाल अध्ययन दिवसको अवसरमा उनीहरु जुटेका हुन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठान र हडर्सफिल्ड विश्वविद्यालयको स्कूल अफ ह्यूमन एण्ड हेल्थ साइन्सेजले संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेको हो ।
अनलाइनबाट र प्रत्यक्ष उपस्थितिमा अध्येताहरुले विमर्श गर्ने सो कार्यक्रममा करिब १२५ अध्येताको विभिन्न विषयमा ५५ वटा प्रस्तुतिहरु रहनेछन् । जसमा महामारी र स्वास्थ्य प्रणाली, मर्यादित महिनावारी र महिला अधिकार, नेपालको स्वास्थ्य समस्या, पाको पुस्ता, मातृशिशु स्वास्थ्य, जेण्डर, प्रोफेसर माइकल हटको प्राज्ञिक कार्यको सम्झना, सामाजिक विकास, आप्रवासन र नेपाल फ्यामिली कोहोर्ट बारेको अध्ययन, मर्यादा र स्वतन्त्रता, नेपालमा ज्ञान उत्पादन र जोखिमयुक्त प्रकोप अनुसन्धानमा सहकार्य खण्डमा अध्येताहरुले आफ्ना अध्ययन प्रस्तुत गर्नेछन् र सहभागीहरुले प्रश्न गर्ने अवसर पाउने छन् ।
कार्यक्रममा चारवटा प्लेनरी सेसन पनि राखिएको छ । नेपालमा उच्चशिक्षामा अवसर र चुनौती, संघीयता र त्यसले नेपालको स्वास्थ्यप्रणालीमा पारेको प्रभाव, नेपालमा हेल्थकेयर अनुसन्धानमा तत्कालिक विषय र चुनौतीहरु, स्वास्थ्य साक्षारता र महामारीमा अन्तरपुस्ता सिकाइमा ती प्लेनरी सेसन चल्नेछन् ।
बेलायत नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष नेपालबारे अनुसन्धान गर्ने अध्येताहरुलाई लक्षित गरी नेपाल अध्ययन दिवस मनाउँदै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५