शनिबार, पुष २७, २०८१
03:51 | ०९:३६

चितवन क्षेत्र नं २ मा मतदान सुरु 

रासस अप्रिल २३, २०२३

चितवन क्षेत्र नम्वर २ मा आइतबार भइरहेको उपनिर्वाचनमा मतदानका लागि बिहानै नारायणी नमुना मावि मतदानस्थलमा लामबद्ध मतदाता । तस्बिर- कृष्ण आचार्य/रासस

चितवन–चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइन बसेका हुन् ।

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा कालिका नगरपालिकाको शक्तिखोरस्थित चर्तुमुखी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै लोकतान्त्रिक वाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ । तस्बिर-रासस

यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।

गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू