आइतबार, पुष २१, २०८१
18:56 | ००:४१

बेलायत-नेपाल वार्ता अघि भूतपूर्व गोर्खाहरुको दूतावासमा बैठक

नेपाली लिङ्क अप्रिल १७, २०२३

लन्डन । बेलायत र नेपाल सरकार तथा भूतपूर्व गोर्खाहरुबीच त्रिपक्षीय वार्ता हुनु अगाडि दूतावासमा तयारी बैठक हुने भएको छ ।

१९ अप्रिल तय जीटुजी वार्तामा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न दूतावासमा मंगलबार बिहान ११ देखि १२ बजेसम्म विभिन्न गोर्खा संगठनका प्रतिनिधि सम्मिलित समूह ‘जी टेन’ सदस्यहरुबीच छलफल हुन लागेको हो ।

एकजना गोर्खा अभियन्ताका अनुसार, उक्त छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव (युरोप अमेरिका डिभिजन) दिलिपकुमार पौडेल, राजदूत ज्ञानचन्द्र आचार्यसहित विभिन्न गोर्खा संगठनका प्रतिनिधिको सहभागिता रहनेछ ।

सहसचिव पौडेल १९ अप्रिलको वार्तामा समेत सामेल हुन लन्डन आउंदैछन् ।

‘बुधबार हुने त्रिपक्षीय वार्ता अघि कुन रुपमा प्रस्तुत हुने भन्ने तयारीका लागि दूतावासमा बैठक हुन लागेको हो’, आन्दोलनको प्रमुख घटक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भने, ‘हामीले अझै एजेण्डा त पाएका छैनौं, सायद बैठकसम्म पाइएला ।’

बेलायत सरकारले वेलफेयर एजेण्डामा मात्र वार्ता गर्ने हो कि भन्ने आशंका गोर्खाहरुमा छ । समान पेन्सन मुद्दा नउठे अर्को निर्णायक आन्दोलन गर्ने चेतावनी भूतपूर्व गोर्खाहरुले दिएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू