राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत आउंदै राष्ट्रपति पौडेल
लन्डन–नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण तयारी भएको छ ।
राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको आगामी मे ६ तारिख यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन आउन लागेका हुन् ।
गत महिना राष्ट्रपति निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ । श्रोतका अनुसार, उनको भ्रमणबारे लन्डनस्थित नेपाली दूतावासलाई अवगत भइसकेको छ । तर, भ्रमण तालिका सार्वजनिक हुन बांकी छ ।
पौडेलले नेपाली समुदायलाई पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ । उनका छोरा बुहारी बेलायतमै छन् ।
वकिङघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने जनाइएको छ ।
बेलायतमा ७ दशकपछि राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेष्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेकाको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन् ।
राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएकी थिइन् । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।
राजा चार्ल्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समाराहभन्दा छोटो हुनेछ ।
महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए ।
राजा चार्ल्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चार्ल्सको औपचारिक तस्बिर र निम्तापत्र पनि सार्वजनिक गरेको छ ।
विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे ८ मा बेलायतभर सार्वजनिक विदा दिइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५