उत्तर कोरियाद्वारा भिन्न किसिमको क्षेप्यास्त्र प्रक्षेपण



सियोलस्थित रेल स्टेशनमा राखिएको टिभी स्क्रिनमा उत्तर कोरियाको मिसाइल प्रक्षेपणबारेको समाचार हेर्दै एक व्यक्ति । तस्बिर एएफपी
सोल, ३० चैत-उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएको भन्दा भिन्न प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने हतियार भएको अनुमान दक्षिण कोरियाली सुरक्षा अधिकारीले गरेका छन् । प्योङयाङले प्रतिबन्धित हतियार कार्यक्रमलाई निरन्तरता दिँदै त्यसलाई सफल तुल्याएको हुनसक्ने बताएको छ ।
विगतमा तरल इन्धनबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्दै आएको प्योङयाङले आज जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनबाट चल्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रक्षेपण गरेको बताइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिएका थिए । नेता किमको इच्छाअनुसार आजको नयाँ परीक्षण भएको ठानिएको छ ।
दक्षिण कोरियाका उच्च सैन्य अधिकारीले पनि ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र उत्तरले आज प्रक्षेपण भएको हुनसक्ने बताएका छन् । ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ ।
यसैबीच, प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । आज बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको केही बेरपछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो ।
अमेरिकाले उत्तरकोरियाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५