आइतबार, माघ १३, २०८१
21:03
|
०२:४८
बिस्केट जात्राको पहिलो दिन हजारौँको भीड, आठ सय सुरक्षाकर्मी तैनाथ
रासस
अप्रिल १०, २०२३
भक्तपुर, २७ चैत–नयाँवर्षको आगमनसँगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्का अर्थात् बिस्केट जात्राको पहिलो दिन आज भैरवको रथ तानिएको छ ।
प्यागोडा शैलीमा काठैकाठले निर्माण भएको तीनतले भैरवको रथ स्थानीयवासीले आज अपराह्न ४ बजेदेखि तौमढी (पाँचतले मन्दिर प्राङ्गण) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।
आज राति ८ बजेसम्ममा तौमढीबाट माथिल्लोतर्फ सुकुलढोका, गोल्मढी हुँदै इनाचो पुरयाइएको छ । हजारौँका सहभागिता रहेको जात्रामा भैरवको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढीभन्दा तलका बासिन्दाले पनि रथलाई तौमढीतर्फ ल्याउन तानिरहेका छन् ।
रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामा भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार-चारवटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतीकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाँधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।
रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयवासीले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ ।
पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुरयाएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।
आज बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरवको रथ तान्न सुरु गरिएको उनले बताइन् ।
तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पुरयाई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुरयाइएको छ ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानी सकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको वलीले बताइन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताए । जात्रामा सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको उनले बताए ।
जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत आउने बताए । उनले ६ सय ४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोसाकमा सुरक्षाकर्मी जात्राका लागि खटाइएको बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५