आइतबार, पुष २८, २०८१
02:05 | ०७:५०

बेलायती र नेपाली इन्जिनियरहरुबीच नेपालको प्राकृतिक विनाशसम्बन्धि अन्तरक्रिया

नेपाली लिङ्क अप्रिल ९, २०२३


लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले इन्सटिच्यूसन अफ सिभिल इन्जिनियर्स (आइसीइ) संग नेटवर्किङ इभेन्ट गरेको छ ।

३० मार्चमा मेडस्टोनमा आयोजित कार्यक्रममा सोने यूकेका तर्फबाट डा. ऋषिराम पराजुली र आइसीइका सुसान हक्स् प्रमुख वक्ता थिए । कार्यक्रमको संयोजन सदस्य मनोज पुन र अर्का कार्यकारी सदस्य विशाल रानाले इभेन्टका लागि आइसीइ संयोजक फिलिप्पा जेफेरिससंग समन्वय गरेका थिए ।

डा. पराजुलीले नेपालको केस स्टडीसहित प्राकृतिक विनाशसंग जुध्न इन्जिनियरहरुको भूमिकाबारे आफ्नो धारणा प्रस्तुत गरे । 

उनले नेपालमा बाढीपहिरो, चट्याङ, आगलागी सबैभन्दा बढी खतरा हुने पनि औंल्याए । डा. पराजुलीले समुदायमा पूर्व सतर्कता अपनाउन सचेतना र संवादमा पनि जोड दिएका थिए ।


मन्तव्यका क्रममा सुसान हक्सले इन्जिनियरिङ क्षेत्रमा प्राविधिकहरुको महत्वबारे प्रकाश पारिन् । उनले इन्जिनियरिङ प्राविधिकहरुले सामना गरेको चुनौतिबारे पनि सहभागीलाई अवगत गराएकी थिइन् । सो क्रममा प्राविधिकहरुको पहिचान सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रश्नोत्तरसहित सञ्चालित उक्त अन्तरक्रियामा करिब ४० जना सहभागी थिए । कार्यक्रममा इन्सटिच्यूसन अफ रोयल इन्जिनियर्सका सदस्य पनि थिए । सोने यूकेका संस्थापक अध्यक्ष कृष्णकिशोर श्रेष्ठ, पूर्व अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पूर्व महासचिव बिदुर घिमिरे र विशेषगरि युवा नेपाली इन्जियरहरुले प्रश्नोत्तरमा भाग लिएका थिए ।

कार्यक्रममा सोने यूके अध्यक्ष रुद्र कोइराला र केन्ट एवं इष्ट ससेक्स आइसीइ मार्क टिटोन दुवैले कार्यक्रमको संक्षेप प्रस्तुत गर्दै सहभागीप्रति आभार व्यक्त गरे । सो अवसरमा टिटोनले नेटवर्किङ इभेन्ट कति महत्वपूर्ण छ भन्नेबारे प्रकाश पार्दै प्रमुख वक्ताहरुको प्रशंसा गरेका थिए ।


सो अवसरमा अध्यक्ष कोइरालाले २०२२ देखि ०२४ सम्मको रोडम्याप अन्तर्गत संस्थाको उद्देश्यबारे प्रष्टयाए । उनले नेपाल इन्जिनियर्स एसोसिएसन, इन्सटिच्यूट अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय नेपाल, इन्सटिच्यूसन अफ सिभिल इन्जिनियर्स यूके लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय संस्था तथा शैक्षिक संगठनहरुसंग सहकार्य एवं संस्थाले अन्तरक्रिया गर्ने सम्बन्धमा पनि जनाए ।

अध्यक्ष कोइरालाले सोने यूकेले बेलायतमा युवा नेपाली इन्जिनियरहरुलाई इन्टिग्रेसन गराउन र उनीहरुको करिअर विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए । उनले नेपाली युवा इन्जिनियरहरुलाई आइसीइको सदस्यता लिन र बेलायतमा अवसरका लागि कार्यक्रम कोशेढुंगा भएको पनि उल्लेख गरे ।

कार्यक्रमले बेलायतमा विभिन्न क्षेत्रमा कार्यरत इन्जियिरहरुबीच नेटवर्किङ वृद्धि र एकापसमा सहकार्यबारे महत्वपूर्ण सहयोग गरेको सोने यूकेको विश्वास छ ।   

कार्यक्रममा सहभागीलाई मेडस्टोन केन्टस्थित गोर्खा किचन रेष्टुरेन्टको नेपाली खाना प्रवन्ध गरिएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू