एनबीसी यूकेको नयाँ वर्ष र च्यारिटी डिनर नाइटमा धोकेबाज गायिकाले मच्चाइन् तहल्का
लण्डन- नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले आइतबार नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर एक च्यारिटी डिनर नाइट गरेको छ । पवित्र समाज सेवा नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम भएको हो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु एलिना चौहान, सुमन कार्की र अन्जली अधिकारीले जोडदार प्रस्तुति दिए ।
अहिलेकी चर्चित गायिका एलिना चौहानले उनलाई संगीतिक क्षेत्रमा पहिचान दिलाउन सफल कभर गीत ‘मेरो सिरानी होस् तिम्रो काख’ बोलको गीत सुरुमै प्रस्तुत गरिन् ।
बेलायतवासी गीतकार नृपेश उप्रेतीको ‘तिम्रै माया लाग्छ’ बोलको गीत साथै पछिल्लो समय भाइरल बनेको गीत ‘धोकेबाज हौ तिमी’ लगायत विभिन्न गीत प्रस्तुत गर्दा दर्शक मज्जाले झुमे । चर्चित मोडल तथा डान्सर अन्जली अधिकारीले ‘गलबन्दी च्यातियो’, ‘पान खायो माया’ ले जस्ता विभिन्न चर्चित गीतमा नृत्य गरेर दर्शकहरुलाई मनोरन्जन दिलाएकी थिइन् ।
त्यस्तै हास्यव्यंग्य क्षेत्रमा ख्याति कमाउंदै गरेका सुमन कार्कीले पनि नेपालको राजनैतिक व्यंग्य प्रस्तुत गर्दै प्रमुख नेताहरुको प्यारोडी गीत प्रस्तुत गरेका थिए ।
व्यंग्यात्मक शैलीमा मोटोपन, बेलायती जीवनशैली र बालबालिकाको प्रविधि लतबारे समेत उनले व्यंग्य गरे ।
कार्यक्रममा एनबीसी यूकेले नेपाल र बेलायतमा विगतमा गरेका विभिन्न गतिविधिबारे एक वृतचित्र प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि राजदूत आचार्यले एनबीसी यूकेले विगतमा गरेको च्यारिटी कार्यको प्रशंसा गर्दै नेपालकै समाजसेवाका लागि कार्यक्रम गर्न लागेकोमा धन्यवाद दिए ।
राजदूत आचार्यले भौतिक रुपमा टाढा भएपनि मन नेपालबाट टाढा नभएको बताउंदै नेपालका स्कुल, पुस्तकालय जस्ता क्षेत्रमा सहयोग साथै आँखा उपचार देखि अन्य विभिन्न सामाजिक कार्यमा पुरयाएको योगदान सह्रानीय रहेको बताए । नेपाली कलाकारहरुलाई बेलायतमा बोलाएर नेपाली कला संस्कृति र परम्पराको जगेर्ना गर्ने कार्यमा समेत संस्थाले महत्वपूर्ण योगदान गरेको आचार्यले बताए ।
संयोजक राजेन्द्र ओझाले पनि देशका हरेक दु:ख पीडामा संस्थाले सक्दो सहयोग गर्दै आएको र भावी दिनमा पनि यसलाई निरन्तरता दिंदै जाने बताए ।
ओझाले बेलायतमा च्यारिटीमुलक संस्थाको रुपमा दर्ता भएको आफ्नो संस्थाले प्रवासमा बसेर पनि नेपालसंग विभिन्न मानवीय कार्यमार्फत जोडिइरहन र बेलायतवासी नेपालीहरुबीच भाषा संस्कृति र परम्परालाई जीवन्त राख्ने कार्यमा लागिपर्ने बताए ।
कार्यक्रममा राजदूत आचार्य तथा संयोजक राजेन्द्र ओझाले कालाकारहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए । यसका साथै स्थानीय कलाकारहरुले पनि ‘घिन्ताङ घिन्ताङ मादल मात्रै कति बजाम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
अन्तमा, डिजे हेम बिष्टले विभिन्न डान्सिङ नम्बर गीतहरु प्रस्तुत गर्दै थप मनोरन्जन दिलाएका थिए । कार्यक्रम समीरनाथ प्याकुरेलले सञ्चालन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५