शनिबार, पुष २७, २०८१
00:15 | ०६:००

प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

रासस अप्रिल १, २०२३

तस्बिर रासस

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो । खेलमा पहिलो अग्रता भने लाओसले लिएको थियो । खेलको १७औँ मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे । तर खेलको २४औँ मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । आयुषले एरिक विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो । खेलको ८७औँ मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उनले अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका हुन् । खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० अमेरिकी डलर पाए ।

त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे ।

प्रतियोगिता विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपालसहित लाओस र भुटानको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू