टर्की सिरिया भूकम्प पीडितका लागि सात अर्ब युरो सहयोगको प्रतिबद्धता



एक महिला भूकम्पबाट क्षतिग्रस्त भवन छेउबाट हिंड्दै हतायमा । तस्विर एएफपी
ब्रसेल्स, ७ चैत–टर्की र सिरियामा गएको विनाशकारी भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने बाचा गरेका छन् ।
ती भूकम्प पीडितहरुका लागि सहयोग रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले ब्रसेल्समा आयोजना गरेको दाताहरुको सम्मेलनका क्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।
सोमबार अन्तर्राष्ट्रिय दाताहरुबाट सो सहयोगको प्रतिबद्धता आएको बताइएको हो । गत महिनाको विनाशकारी ७. ८ म्याग्निच्युडको भूकम्पले यी दुई देशमा ठूलो क्षति पुगेको छ । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
यस भूकम्पबाट प्रभावित हुने र विस्थापित हुने व्यक्तिको सङ्ख्या पनि लाखौँ जना रहेको संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक अनुमान छ ।
एक प्रारम्भिक प्रतिवेदनका अनुसार टर्कीमा मात्रै एक सय अर्ब डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उक्त क्षेत्रमा गत हप्ता आएको बाढीले पनि थप दुःख भएको जनाइएको छ ।
सोमबार आयोजना गरिएको सो दाता सम्मेलनमा विश्वका विभिन्न देशका ६० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।हाल टर्की र सिरियामा सङ्कटग्रस्त अवस्था रहेको र तत्कालै उनीहरुका लागि आवश्यक सहयोग जुटाउन सो सम्मेलनको आयोजना गरिएको र त्यसमा तत्कालै आवश्यक पर्ने सङ्कटकालीन सहयोग अन्तर्गत यो प्रतिबद्धता आएको बताइएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५