कतारको अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपाल पनि
काठमाडौँ । कतारको दोहामा हुन लागेको दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाउने भएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा भोलि चैत १ देखि चैत ५ गतेसम्म हुने प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासंघले भाग लिएको हो ।
उक्त प्रदर्शनमा भाग लिन महासंघका उपाध्यक्ष एवं मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा आज २१ निर्यात व्यवसायी कतार प्रस्थान गरेको महासंघका कार्यालय सचिव दिपेश घिमिरेले जानकारी दिए ।
उक्त प्रदर्शनीमा नेपालको तर्फबाट चिया, जडीबुटी हर्बल, अलैँची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत संघको प्रतिनिधित्व रहने घिमिरेले बताए ।
सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कञ्चनजंघा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम उद्योगको सहभागिता रहनेछ ।
कतार नेपालको व्यवसायिक सम्बन्ध वैदेशिक रोजगार गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवर्धनका लागि कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासंघको संयुक्त प्रयासमा छ दिने मेलामा सहभागिता जनाएको हो ।
प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच विटुवि मिटिङ र व्यावसायिक सम्झौता गरिने महासंघले जनाएको छ ।
कतार र नेपालको व्यवसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासंघले विश्वास लिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५