टर्कीका भूकम्प पीडित नेपालीको सहयोगार्थ संकलित रकम हस्तान्तरण


भिएना– टर्की र सिरिया केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावित त्यहाँका करिब दुई हजार नेपालीको सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ ।
भूकम्प गए देखि गैरआवासीय नेपाली संघ टर्कीले निकै सक्रिय भूमिका खेली भूकम्प पीडित र त्यहाँ रहेका नेपालीलाई सहयोग गरेको थियो।
भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा रहेका केही विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरु भए पनि सबै नेपाली सुरक्षित रहेका थिए।
गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल घिसिङ्ग र वरिष्ठ उपाध्यक्ष श्यामकला राईले भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सर्न सहयोग गरेका थिए भने महासचिव डा. बिनोद पौडेल र सचिव मोहम्मद जावेद भूकम्प प्रभावित क्षेत्रमा गई सहयोग गरेका थिए।
गैर आवासीय नेपाली संघ टर्कीले गरेको यस कार्यमा एक्यबद्धता जनाउदै एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाले १० दिनको अभियान चलाई आर्थिक संकलन गरेकी थिइन्, जसबाट संकलित चार हजार एक सय उनाइस युरो, उनान्तीस सेन्ट जम्मा भएको थियो।
११३ औं श्रमिक महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, महिला विभागले मार्च १२ मा गरेको एक भर्चुअल कार्यक्रममा उक्त रकम एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको संयोजनमा त्यस कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरबाट गैर आवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ्गलाई हस्तान्तरण गरियो।
थापा अष्ट्रियाका लागि पर्यटन दूत समेत हुन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५