शनिबार, पुष २७, २०८१
15:57 | २१:४२

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

रासस मार्च १२, २०२३

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर- रासस

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नेपालमा विसं २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू