प्रवासी नेपाली मञ्च, अष्ट्रियाको अन्तराष्ट्रिय नारी दिवस


अष्ट्रिया । नेकपा एमाले निकट संगठन प्रवासी नेपाली मञ्च, अष्ट्रियाले ११३ औं अन्तराष्ट्रिय नारी दिवस एक कार्यक्रम गरि मनाएको छ । मञ्चले नारी दिवसका अवसरमा जुममार्फत निवर्तमान महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य भगवती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको हो ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ एवं सांसद सोविता गौतम, लिली थापा, पूर्वसांसद कोमल वली, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायत वक्ताहरूले आफ्नो अनुभव सुनाए।
कार्यक्रममा प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले ‘पुरुषको नजरमा प्रवासी जीवन तथा सामाजिक अभियानमा महिला सहभागिता’ विषयमा बोल्दै राज्यले समेत महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्दै सबै स्थानमा समावेशीताको आधारमा अवसर दिनुपर्ने बताए ।
थापाले संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म सबै खाले महिला हिंसा उन्मुलन गर्ने लक्ष्य लिएको बताउँदै लैङ्गिक समानताले समुदायको विकासमा टेवा दिने धारणा पनि राखे ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरणमा युवाको भूमिका विषयमा बोल्दै समाज तब रूपान्तरित हुन्छ, जब परिवर्तनले दिगो रुप लिन्छ भन्ने धारणा व्यक्त गरिन् । सामाजिक रुपान्तरण हुन आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय सँगै बहुआयामिक परिवर्तन हुन आवश्यक रहेको बताउँदै उनले समाजको रूपान्तरणमा युवा पुस्ताको अहंम भूमिका हुने पनि बताइन् ।
मन्तव्यका क्रममा सांसद सोबिता गौतमले सांसद भएको करिब तीन महिनामा संसदीय अभ्यासमा खासै नयाँ र नौलो अनुभव हासिल गर्न नसकेको बताउंदै नेपालमा मात्र होइन, विश्वमै महिलालाई राजनीतिमा नरुचाइएको अनुभूति सुनाइन् । पछिल्लो समय राजनीतिमा महिलाहरुको सहभागिता बढेपनि निर्णायक तहमा महिला पहुँच अझै नभएको उनको धारणा थियो । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गत निर्वाचनमा मात्र ९ जना महिला निर्वाचित भएर आउनु दुखःदायी भएको बताउँदै उनले वैचारिक संस्थाहरूले महिलालाई प्राथमिकतामा नराखेको आरोप समेत लगाइन् ।
राष्ट्रियसभाकी पूर्वसदस्य कोमल वलीले राजनीतिमा महिला एक सिंहावलोकन विषयमा बोल्दै पुरुषहरुले नै विभेद र हिंसारहित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताइन् । उनले २०७२ सालको संविधानमा महिला र पुरुषवीचको असमानता हटाउन धेरै विषय समेटिए पनि व्यवहारमा लागू भइनसकेको धारणा व्यक्त गरिन् ।
महिलाको क्षमता पूर्णरूपमा विकास गर्न कम्तिमा नेपाली समाजले राजनीतिमा पुरुष सरह समान अवसर दिनुपर्ने वलीको निचोड थियो ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले ‘विगतदेखि वर्तमानः महिला आन्दोलनलाई फर्केर हेर्दा’ भन्ने विषयमा आफ्नो धारणा राखिन् । सो अवसरमा बोल्दै उनले वैदिक दर्शनमा गार्गी जस्ता विदुषीहरूले निभाएको भूमिकाको चर्चा गरिन् ।
नेपालको राजनीतिक इतिहासमा परिवर्तनका पक्षमा महिलाहरुले ठूलो योगदान दिएको तर समाज, राजनीतिक परिवर्तन र महिला मुक्ति आन्दोलनमा विगतमा महिला अग्रजहरुले गरेको कामको अभिलेख समेत नभएको उनले बताइन् । ‘नेपाली महिलाहरु हरेक क्षेत्रमा सवल र सफल छन् । पछिल्लो संविधानले महिला अधिकारलाई मौलिक अधिकारका रुपमा लिपिबद्ध गरेपनि अझै कार्यान्वयनमा चुनौति छ,’ उनले भनिन् ।
विगत १० वर्षमा १७ हजार ७ सय ९० जना नेपाली महिला बलात्कृत हुनुपरेको प्रतिवेदन औल्याउँदै उनले हिंसा, बलात्कार जस्ता महिला हिंसाका घट्नामा फैसला कार्यान्वयनमा ठूलो खाडल भएको उनको भनाई थियो ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले लैङ्गिक समानताका सवालमा महिलाको पहुँच पुरयाउन संविधानमै उल्लेख भएपनि कार्यान्वयन चरणमा सकस रहेको बताइन् । राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता बढाएर पहुँच स्थापित गर्नुपर्ने बताउँदै उनले नेपालको नयाँ संविधानमा धेरै विषय समावेश भए पनि यसको कार्यान्वयनमा चुनौति देखिएको बताइन् ।
निजामती कर्मचारी सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रमा महिलाको सहभागिता बढाउन सबै क्षेत्र लाग्नु पर्नेमा जोड दिँदै चौधरीले भनिन्, ‘नीति बनिसकेको छ तर, त्यसलाई कार्यान्वयन तहमा ठूलो समस्या छ । अब त्यसलाई समाधान गर्न हामीहरु लाग्नुपर्छ ।’ राज्यले पञ्चवर्षीय योजनामा गरिब, विपन्न नागरिकलाई उत्थान गर्न निश्चित प्रतिशत बजेट लगानी गर्नुपर्ने बताउँदै उनले नेपालमा २५ देखि ३० प्रतिशत जनता गरिबीको रेखामुनी रहेकाले त्यहाँ महिला बढी हिंसामा परेको बताइन् ।
उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका पदाधिकारी, प्रचार प्रकाशन विभाग प्रमुख चानक पोखरेल, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसी लगायतको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीमध्येबाट यास्मिन वेगम, राधिका गुरुङ्ग, प्रवासी नेपाली मञ्च इजरायलजी अध्यक्ष गीता उप्रेती, एनआरएनए केन्द्रीय अध्यक्ष डा बद्री केसी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
अष्ट्रियाकी सचिव बाबा राजेश्वरी थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । थापाले अष्ट्रिया कमिटीले यही मार्च २६ तारिख मिसन ग्रासरुट अन्तर्गत ‘समृद्ध नेपालमा युवाको जिम्मेवारी: प्रवासबाट हाम्रो भूमिका’ विषयक वहसको अर्को श्रृंखला गर्न लागेको पनि जनाइन् ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य युवा इन्चार्ज पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यमा हुने उक्त वहसमा केन्द्रीय सदस्य सजना काफ्ले, युवा नेता अब्दुस मिया तथा एनआरएनए युवा उपाध्यक्ष रोशन थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको समेत थापाले जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५