आइतबार, पुष २८, २०८१
04:31 | १०:१६

बेलायतका व्यवसायी सूर्य गुरुङले गरे विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

रासस मार्च ८, २०२३

लण्डन । अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गरेका छन् ।

बेलायतमा व्यवसाय गर्दै आएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गरेका हुन् । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् ।

बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङले उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गरे । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य रहेको बताए ।

व्यवसायी गुरुङले नेपालमा धेरै क्षेत्रमा सहयोग गरेका समाचार आए पनि विपन्न समुदायका नागरिकलाई खेलकुदका क्षेत्रमा कसैले चासो नदेखेकाले विपन्न समुदाय लक्षित उक्त अक्षयकोषमा आफूले सहयोग गरेको बताए ।


नेपालमा विसं २०७२ मा गएको भूकम्पका पीडितलाई सहयोग जुटाउन लण्डनस्थित नेपाली दूतावासले सञ्चालन गरेको सहयोग अभियानमा आर्थिक संयोजक रहेका गुरुङले रु छ करोडभन्दा बढी रकम सङ्कलन गरेका थिए ।

यसैगरी उनले पोखरा रङ्गशाला स्थापनाका लागि रु ४७ लाख जम्मा गरेका थिए ।

सो अक्षयकोष सञ्चालक समितिका अध्यक्ष दिलबहादुर गुरुङले यस कोषको रकम रु एक करोड पुरयाउने लक्ष्य रहेको जानकारी दिए ।

त्यस कार्यक्रममा रसमोर बरो मेयर तथा उच्चपदस्थ व्यक्तित्व उपस्थिति थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू