शनिबार, पुष २७, २०८१
16:00 | २१:४५

राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतदान केन्द्र

रासस मार्च ७, २०२३

नयाँ वानेश्वरस्थित संघीय संसदभवन । तस्बिर- चन्द्रकला क्षेत्री/रासस

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र बनाइएको छ ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन् ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् ।

निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटाइएका छन् ।

राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू