आइतबार, पुष २८, २०८१
04:22 | १०:०७

बेलायती मन्त्री नेपाल जांदै, उच्चस्तरीय राजनीतिक भेटघाट हुने

नेपाली लिङ्क मार्च ६, २०२३

लन्डन – बेलायतको विदेश मन्त्रालय (एफसीडीओ) अन्तर्गत इन्डो प्यासिफिक हेर्ने राज्यमन्त्री एन मेरी ट्रेभेलियन नेपाल जाने भएकी छन् । 

तीन दिने भ्रमणका लागि उनी ८ मार्च बुधबार काठमाडौँ पुग्ने कार्यक्रम छ । 

राज्यमन्त्री मेरीले नेपाल–बेलायत सन्धि (सन् १९२३) सय वर्ष पुगेको अवसरमा नेपाल भ्रमण गर्न लागेकी हुन् । 

भ्रमणका दौरान उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै बेलायत सरकारको लगानीमा नेपालमा सन्चालित विकास परियोजना अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । उनले बेलायती लगानी रहेको अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नेछिन् ।

भ्रमणकै अवसरमा दुई देशबीचको सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ। राज्यमन्त्री ट्रेभेलियन धरानमा पूर्व गोर्खाहरुको  कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ।

गोर्खा मुद्दामा जारी त्रिपक्षीय वार्ता निर्णायक चरणमा पुग्दै गर्दा हुन लागेको बेलायती विदेश राज्यमन्त्रीको नेपाल भ्रमण थप अर्थपूर्ण रहनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटघाट गरी राज्यमन्त्री मेरी मार्च १० मा बेलायत फर्किने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू