आइतबार, पुष २८, २०८१
04:11 | ०९:५६

बेलायत नेपाल सिधा हवाइ सेवा सञ्चालन गर्न एनआरएनए यूकेको आग्रह

नेपाली लिङ्क मार्च ५, २०२३

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगरले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीसंग भेटेर बेलायत नेपाल सिधा हवाइ सेवाका लागि पहल गर्न आग्रह गरेका छन् ।

ब्रिटेन यूरोपेली संघबाट बाहिरिइ सकेकाले नेपालबाट ब्रिटेनमा सिधा हवाइ सेवा सञ्चालन गर्न कुनै प्रतिबन्ध नभएको अवस्था अवगत गराउंदै गाहामगरले मन्त्रीसमक्ष दुवै देशलाई जोड्ने गरी सिधा हवाइ सेवा जति सक्दो चांडो शुरु गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

सिधा हवाइ सेवा सञ्चालनले दुई देशबीच पर्यटन विस्तार हुनुका साथै भूतपूर्व गोर्खा सैनिक लगायत ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदाय लाभान्वित हुने गाहामगरले बताएका थिए ।

भेटमा गाहामगरले नेपाल तथा ब्रिटेनबीच लगानी तथा व्यापार बढाउन एनआरएनए यूकेले जोड दिंदै आएको उल्लेख गर्दै नेपालमा ब्रिटेनबाट प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्न नीतिगत तथा व्यावहारिक व्यवस्था अरु सुगम एवं झन्झटमुक्त बनाउन पनि आग्रह गरे ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने एनआरएनएको मूल मन्त्र अनुरुप बंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न तथा प्रवासमा रहेका नेपालीका लागि विभेदकारी संवैधानिक तथा कानूनी प्रावधानहरु हटाउन पनि उनको माग थियो । ‘विदेशमा रहेका नेपालीहरुसंग रहेको सीप, ज्ञान र पूंजी नेपाल र नेपालीको हितमा प्रयोग गर्ने वातावरण बनाई दिन हामी नेपाल सरकारसंग माग गर्दछौं’, गाहामगरले भने ।

उनले मन्त्री किरातीलाई एक ज्ञापनपत्र समेत दिएका छन् । ज्ञापनपत्र लिएपछि पर्यटनमन्त्रीले उठान गरिएका विषयको गाम्भीर्यता बुझेर सम्भव भएसम्म आफूले पहल गर्ने आश्वासन दिएका थिए ।


यसैबीच, अध्यक्ष गाहामगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देनलाई बेग्लै भेट गरि वंशजको नेपाली नागरिकता निरन्तरता, भूतपूर्व गोर्खाहरुको समस्या समाधान लगायत मुद्दामा सदन र सरकारमार्फत पहल गरिदिन पनि आग्रह गरेका छन् ।

करिब तीन साता लामो नेपाल भ्रमणका क्रममा गाहामगरले राजनीतिक भेटघाटलाई तीव्रता दिएर आफूहरुका माग जोडदार रुपमा उठाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू