आइतबार, पुष २८, २०८१
00:41 | ०६:२६

अमेरिकालाई ताइवानसँग हतियार कारोबार बन्द गर्न चीनको आग्रह

रासस–सिन्ह्वा मार्च २, २०२३

तस्बिर एएफपी

बेइजिङ, १८ फागुन–चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

‘यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउँछ र चीन–अमेरिका सम्बन्धका साथै ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई नोक्सान पुर्याउँछ’, माओले चीनले यस्ता कार्यको दृढतापूर्वक विरोध गरेको उल्लेख गर्दै बताएका छन् ।

‘हामी संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको मर्मलाई पालना गर्न, ताइवानसँग हतियार बिक्री र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्दछ’ उनले भने । साथै उनले यस्ता गतिविधिले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने पनि बताए ।

ताइवान चीनको अविभाज्य अंग हो भन्ने कुरामा जोड दिँदै प्रवक्ता माओले ‘ताइवान स्वतन्त्रता’ तर्फ प्रजातान्त्रिक प्रगतिशील पार्टीका अधिकारीहरूको पृथकतावादी गतिविधि र चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास ताइवान स्ट्रेटमा तनावको मूल कारण भएको पनि बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू