नेपाली भिलेज यूके पदाधिकारी नेपालमा उच्च राजनीतिक भेटघाटमा व्यस्त
लन्डन । यतिबेला बेलायतको वेल्समा नेपाली गाउं बनाउने परियोजनाका पदाधिकारी नेपालमा राजनीतिक भेटघाटमा व्यस्त छन् । नेपाली भिलेज यूकेका प्रमुख निर्देशक रिटायर्ड मेजर खुशीमान गुरुङ (एमभीओ) को नेतृत्वमा सो परियोजनामा मुख्य भूमिका निर्वाह गरिरहेका निर्देशकहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन् ।
वेल्समा आवश्यक जग्गा खरिद प्रकृया पुरा गरिसकेपछि परियोजनाको विषयमा जानकारी आदानप्रदान, भावी योजना, सहयोग तथा सरसल्लाहका निमित्त नेपालमा सम्वद्ध विभिन्न निकायसंग महत्वपूर्ण भेटघाट भइरहेको प्रवक्ता विक्रम भट्टराईले जनाए ।
बेलायतको वेल्सस्थित ब्रेकन र पोखरा नजिकैको पर्यटकीय गाउँ धम्पुसबीच भगिनी सम्वन्ध अझै मजवुत बनाउने उद्देश्यले यसपाली ब्रेकन टाउनका मेयर डेविड मेडरिथको नेतृत्वमा नेपाल गएको टोलीमा भगिनी सम्वन्धका प्रमुख योजनाकार मेजर खुशीमान गुरुङ र उनकी धर्मपत्नी श्रीमती मन्जु गुरुङ, नेपाली भिलेज यूकेका उपनिर्देशक मान प्रसाद गुरुङ, परियोजनाकै आर्थिक निर्देशक जसु गुरुङ मसेन्स, अर्का डाइरेक्टर तथा इन्जिनियर विजय गुरुङ, डाइरेक्टर मधु गुरुङ लगायत नेपाली भिलेज यूकेका संस्थापक शेयरहोल्डर भ्रमणमा छन् । ब्रेकन र वरपरका क्षेत्रबाट हरेक वर्ष स्थानीयहरु नेपाल (धम्पुस) भ्रमण जाने परम्परा छ ।
टोलीले सबैभन्दा पहिले सम्पदा संरक्षणविद् एवम् आर्किटेक्ट रविन्द्र पुरीले निर्माण गरेको नेपाल भोकेसनल एकेडेमीको अवलोकन भ्रमण गर्दै संरक्षणविद् पुरीसंग नेपाली भिलेज यूकेका भावी योजना कसरी कार्यान्वयन गर्न सकिन्छ, नेपाली मौलिक कला संस्कृति र इतिहासलाई कसरी परियोजनामार्फत संसारभर चिनाउन सकिन्छ भन्ने बारेमा विस्तृत छलफल गरेको थियो ।
उक्त भेटघाटमा सम्पदा संरक्षणविद् पुरीले नेपाली भिलेज यूकेबारे जानकारी पाएपछि यो राष्ट्रकै गौरव गर्न सकिने परियोजनामा कसरी सहयोग र साथ दिन सकिन्छ भन्ने कुरामा आफू अत्यन्त उत्साहित रहेको र छिट्टै बेलायत आएर स्थलगत भ्रमण गर्न आतुर रहेको बताएका थिए ।
यसैगरी नेपाली भिलेज यूके नेतृत्वले नेपाल सरकार परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालसंग भेटघाट गरेको छ ।
उक्त अवसरमा नेपाली भिलेज यूकेका प्रमुख निर्देशक रिटायर्ड मेजर खुशीमान गुरुङ, ब्रेकन टाउनका मेयर डेविड मेडरिथ लगायतको उपस्थितिमा बेलायत नेपाल सम्वन्ध र नेपाली भिलेज यूकेको अवधारणाबारे जानकारी आदान–प्रदान भयो ।
परराष्ट्र मन्त्री पौड्यालले नेपालबाट टाढा रहेरपनि नेपाल र नेपालीपनलाई संसारमा प्रचार प्रसार गर्ने उद्देश्य सहित सुरु गरिएको परियोजनामा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग र सद्भाव रहने प्रतिवद्धता जनाइन् ।
टोलीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिंदै नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीसँग पनि भेट गरेको थियो । सिंहदरबारस्थित मन्त्रालयमै पुगेर परियोजनाका म्यानेजिङ् डाइरेक्टर, बेक्रन–धम्पुस टुइनिङ एसोसिएसन यूके अध्यक्ष एवं मेयर मेडरिथ, परियोजनाका निर्देशकहरु मन्जु गुरुङ, जसु गुरुङ मसेन्स र बेक्रन–धम्पुस टुइनिङ एसोसिएसन नेपालका अध्यक्ष एवं कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीलगायतको टोलीले गत बुधबार मन्त्री किरातीलाई भेटेको हो । भेटमा बेलायत नेपालबीच पर्यटन प्रवर्धन सहकार्यका लागि वेल्समा अघि सारिएको नेपाली भिलेज यूके परियोजनाबारे जानकारी आदान–प्रदान भयो ।
उक्त अवसरमा बोल्दै मन्त्री किरातीले परियोजनाको अवधारणा सुन्दा भविष्यमा नेपाली पर्यटन प्रवर्धन गर्न यो परियोजना कोशेढुङ्गा बन्ने आशा व्यक्त गरे । नेपाली भिलेज यूकेलाई मन्त्रालयबाट हुन सक्ने सहयोग खासगरी नेपाली ऐतिहासिक कला संस्कृति र इतिहासबारेका सूचनाहरु बारेमा सहयोग गर्न सकिने बताए ।
परियोजना नितान्त पर्यटन क्षेत्रसंग सम्वन्धित रहेको कुरा मध्यनजर गर्दै नेपाली भिलेज परियोजना टोलीले काठमाण्डू भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड पुगेर त्यहांका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी, पर्यटन बजार व्यवस्थापन निर्देशक नन्दिनी लहे थापा लगायत अन्य अधिकारीहरुलाई भेटेर नेपाली भिलेज यूके र नेपाल पर्यटन बोर्ड के कसरी एकआपसमा मिलेर सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरेको छ ।
नेपाल पर्यटन बोर्ड प्रमुखले नेपाली पर्यटनसंग सम्वन्धित विभिन्न सामग्रीहरु उपलब्ध गराउन सक्ने, दूतावासमार्फत नेपाली भिलेज यूकेबारे जानकारी दिन कोशिश गर्ने बताए ।
नेपाली भिलेज यूकेले परियोजनालाई आवश्यक लगभग २४ एकर जग्गा खरिद प्रक्रिया सम्पन्न गरेर योजना अनुसार पहिलो चरण अन्तर्गत क्याम्पसाइट, वृक्षारोपण, ढुङ्गेधारो अनि अन्य आवश्यक कार्य गर्न स्थानीय काउन्सिलको योजना (प्लानिङ) विभागमा योजनासहित स्वीकृतिका निम्ति निवेदन दिएको छ ।
स्थानीयको प्रत्यक्ष सरोकार हुने सामुदायिक परियोजना भएको कुरालाई मध्यनजर गरेर आउने मार्च२६ तारिख स्थानीयहरुलाई यसको बारेमा विस्तृत जानकारी र विचार आदान–प्रदान गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरिएको छ । यसका साथै परियोजनाले आगामी मे २१ तारिख शनिवार परियोजनाको पहिलो वार्षिकोत्सव परियोजना स्थलमा भव्य तरिकाले मनाउने योजना बनाएको छ ।
परियोजनामा यतिबेला २२७ जना शेयरहोल्डर छन् । उक्त वार्षिकोत्सवपश्चात दोश्रो चरणको शेयर खोल्ने योजना छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५