आइतबार, पुष २८, २०८१
01:59 | ०७:४४

रुसलाई यसैवर्ष परास्त गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता   

रासस -एएफपी फ्रेब्रवरी २५, २०२३

किएभ, १३ फागुन–युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वर्ष रुसलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विदेशबाट जर्मनीमा निर्मित ट्याङ्क र हातहतियार प्राप्त गरेपछि रुसलाई पराजित गर्ने प्रतिबद्धता 
दोहोरयाएका हुन् ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भीषण युद्ध शुरु भएको वार्षिकीका सन्दर्भमा युरोपेली मुलुकका राजधानीमा रुसी आक्रमणविरुद्ध विरोध प्रदर्शन भएका छन् । पश्चिमा राष्ट्रले रुसी ब्याङ्क, सैन्य क्षेत्रलगायत आर्थिक उपार्जनका केन्द्रलाई क्षीण तुल्याउन अझ कठोर प्रतिबन्ध लगाउने अभिव्यक्ति दिइरहेका बेला उत्साहित युक्रेनी राष्ट्रपतिले रुसलाई परास्त गर्ने प्रण गरेका छन् ।

सात वटा औद्योगिक राष्ट्रको समूहले पनि रुसमाथि गम्भीर नाकाबन्दी लगाउने चेतावनी दिएको छ ।

पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविकीले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने बताएका छन् । युक्रेनी विमान चालकहरूलाई लडाकु विमान उडाउने तालिम दिने प्रस्ताव पनि उनले अघि सारेका छन् ।

रुसका पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले पोल्याण्डको सिमानाबाट आफ्नो भूमिमा हुने आक्रमणको जवाफ दिन रुस तयार रहेको बताएका छन् ।

चीनले युक्रेन युद्धका सम्बन्धमा जारी गरेको १२ बुँदे अवधारणापछि राष्ट्रपति जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताएका छन् । चीनले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको अवधारणपत्रमा अन्तर्राष्ट्रिय समुदायले शान्ति स्थापनाका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्नेमा जोड दिँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ ।

शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने पनि जनाएको छ ।

नागरिक संरचना र सुविधामा आक्रमण गर्न नहुने, महिला, बालबालिका र द्वन्द्वका अन्य पीडितहरूको सुरक्षा गरिनुपर्ने युद्ध बन्दीका मौलिक अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै चीनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गर्न नहुने बताएको छ । साथै उसले आणविक हतियारको धम्की वा प्रयोगको विरोध गर्दै आणविक संकट निम्तिन नदिनेमा सबै चनाखो हुनुपर्ने बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू