आइतबार, पुष २८, २०८१
08:10 | १३:५५

व्यवसायी लामिछानेलाई गृहजिल्लामा सम्मान, मुख्यसचिवले स्टेजबाटै गरे प्रशंसा

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२३

लन्डन । राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक बुधबार पर्वत पुग्दा सरकारका मुख्य सचिव, राष्ट्रिय सभा अध्यक्ष लगायत वरिष्ठ अधिकारी र स्थानीयले ऐतिहासिक भ्रमण भएको अनुभूति गरे ।

राष्ट्रपति भण्डारी पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिर पुनःनिर्माण गरिएपछि उद्घाटन गर्न त्यहां पुगेकी थिइन् । राष्ट्रपतिको आफ्नो कार्यकालमा सम्भवतः अन्तिम जिल्ला भ्रमण र पर्वत एकमात्र बांकी थियो भ्रमण गर्न ।

राष्ट्रपतिको भ्रमण तारतम्य मिलाउन सहज थिएन सुरक्षा र भौगोलिक दृष्टिकोणले । तर यो सफल हुनुमा एकजना बेलायतस्थित व्यवसायी रविन्द्रजंग लामिछानेको समेत मुख्य योगदान थियो । राष्ट्रपतिसंग व्यक्तिगत निकट सम्बन्ध भएकाले पनि उनलाई यसमा सफलता मिलेको व्यवसायी लामिछानेले बताए । लामिछाने मन्दिर पुनर्निर्माणका लागि मुख्यदाता हुन् । लामिछानेले ०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त कुल मन्दिर पुननिर्माणका लागि गत ०७६ माघ १६ मा शिलान्यास गरेका थिए।

मन्दिर उद्घाटनका क्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले व्यवसायी लामिछानेले देशलाई विपत्ति पर्दा सहयोगमात्र होइन्, नेपालका नेताहरुलाई बेलायतको उच्चस्तरिय राजनीतिक भेटघाट गराउन समेत ठूलो भूमिका निर्वाह गरेको खुलेरै तारिफ गरे । लामिछानेको बेलायती राजनीतिज्ञसंग निकट सम्बन्ध भएको चर्चा गर्दै मुख्य सचिव बैरागीले लामिछानेले बेलायत नेपाल सम्बन्ध सुदृढीकरण गर्न विशेष योगदान दिएको बताए ।

त्यसो त राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि व्यवसायी लामिछानेको सामाजिक योगदानको निकै प्रशंसा गरे । उनले मन्दिर पुनर्निर्माण हुन लामिछानेको सहयोग महत्वपूर्ण रहेको समेत उल्लेख गरे ।

स्थानीय जनताले पनि लामिछानेको गृहजिल्लाप्रति रहेको माया, सद्भाव र सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

आदिबराह मन्दिर पुनःनिर्माण

पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२ सालको भूकम्पबाट क्षत–विक्षत भएको थियो ।

पुर्खाले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुनःनिर्माण गरिएको जलजला–२ का वडाध्यक्ष तथा मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । “रु एक करोड ५० लाख चन्दा जुटाएर दुईवटा मन्दिर पुनःनिर्माण गरेका हौँ”, उनले भने, “मन्दिर पुनःनिर्माणसँगै ऐतिहासिक र धार्मिक महत्वको आदिबराहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।”

मन्दिर पुनःनिर्माणका लागि हाल बेलायतमा बसोबास गर्ने रवीन्द्रजङ्ग लामिछानेले बढी रु २५ लाख सहयोग गरेका छन् ।


समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि र नीलगिरि हिमाल देखिन्छ ।

स्थानीय नवीन जिसीले भने, “बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल र मन्दिर पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।” यहाँबाट पर्वत, म्याग्दी र बागलुङका विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।

पर्वतको वारीबेनी हुँदै मल्लाजबाट दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । अंग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनसकेको छैन । यो जलजला गाउँपालिकाको सबैभन्दा ठूलो ताल हो । बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागि समेत प्रयोग गरिएको छ ।

जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।

तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा निर्माण भएको घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कूल मन्दिरलाई अन्य समुदायको पनि धार्मिकस्थलका रूपमा विकास गर्ने प्रयास गरिएको मन्दिर पुनःनिर्माण समितिको आर्थिक संयोजक डम्मरबहादुर जिसीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू