शनिबार, पुष २७, २०८१
17:49 | २३:३४

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

रासस फ्रेब्रवरी २४, २०२३

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा नेपाली राजदूतावासद्वारा बुधबार र बिहीबार आयोजित पर्यटन प्रवद्र्धनमा नेपालको पर्यटन प्रवर्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा राखिएको नेपाली सामग्री अवलोकन गरिँदै । तस्बिर सौजन्य- कायरोस्थित नेपाली राजदूतावास/रासस

काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ ।

कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–संगीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ ।

प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुरयाएका थिए । इजिप्टमा करिब तीन सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ ।

उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान, ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलंका, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवद्र्धनसम्बन्धी कक्ष राखिएका थिए ।

त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू