शनिबार, पुष २७, २०८१
17:58 | २३:४३

महाशिवरात्रि आज, पशुपतिमा भक्तजनको घुइँचो

रासस फ्रेब्रवरी १८, २०२३

महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको मूलढोकामा फुलैफुलले सिँगारिएको दृश्य । तस्बिर-शर्मिला तिमल्सिना/रासस

काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए ।

पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथमा शनिबार बिहानैदेखि लागेको दर्शनार्थीहरुको भीड । तस्बिर- विमलबहादुर विष्ट/रासस

पशुपतिमा बिहानदेखिनै भक्तजनको घुइँचो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ लगायत मुलुकका सबै शिवालय मन्दिरमा बिहान सबेरैदेखि नै भक्तजनको भीड लागेको छ । आराध्यदेव भगवान् पशुपति नाथको दर्शन गर्न स्वदेशबाट मात्र नभई छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा तीर्थालुको आगमन भएको छ ।

महाशिवरात्रि भव्यरुपमा मनाउन पशुपति क्षेत्र विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

यस पटक पनि ठूलो सङ्ख्यामा योगी, साधु, सन्त, महन्थसहित बाबाको आवागमन भएको छ । त्यो सङ्ख्या तीन हजारभन्दा बढी रहेको छ । तीर्थयात्रुको सुविधाका लागि विभिन्न क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ ।

हिन्दू धर्ममा विश्वास गर्ने तथा पशुपतिनाथप्रति आस्था राख्ने भारत, इण्डोनेसिया, मलेसियालगायतका मुलुकबाट पनि भक्तजन आउने गर्दछन् । महाशिवरात्रिका अवसरमा भारतका गोवर्धन मठपुरीका पीठाधिश्वर शङ्कराचार्य निश्चलानन्द सरस्वती पनि यस पटक नेपाल आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू