बेलायतमा एक नेपाली कुट्ने अर्का नेपालीको खोजी गर्दै प्रहरी
लन्डन। बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रमा एक नेपालीलाई कुटपिट गर्ने अर्का नेपाली युवाको खोजीमा बेलायती प्रहरी जुटेको छ।
झन्डै दुई साताअघिको घटनाको अनुसन्धानको क्रममा प्रहरीले कुटपिट गर्ने युवाको तस्विर सार्वजनिक गर्दै खोजीमा सघाउन स्थानीय समुदायलाई अपिल गरेको छ।
ह्याम्पशायर प्रहरीका अनुसार गत फेब्रुअरी ४ तारिख शनिबार बिहान झन्डै डेढ बजेको आसपासमा घटना भएको थियो। अल्डरसटको वेलिङटन स्ट्रिटस्थित एक क्यासिनोको बाहिर एक युवाले अर्कोलाई कुटपिट गरेका थिए। जसका कारण पीडित युवाको अनुहारमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले आफ्नो अपिलमा नेपाली युवा भनेर नखुलाएपनि तस्विरमा देखाइएका युवा नेपालीजस्तै देखिन्छन् भने प्रहरीले आफ्नो अपिल नेपाली समुदायलाई केन्द्रित गर्दै नेपाली भाषामा पनि प्रकाशन गरेको छ। अल्डरसटमै बसोबास गर्ने नेपालीले पनि कुटपिटमा संलग्न दुवै पक्ष नेपाली रहेको बताएका छन्।
प्रहरीले सिसिटिभी फुटेजबाट प्राप्त तस्विर सार्वजनिक गर्दै कुटपिट गर्ने युवाबारे कुनै जानकारी भए उपलब्ध गराइदिन अपिल गरेको छ ।
यसबारे जानकारी भएमा अपराध नम्बर 44230047380 खुलाएर प्रहरीलाई 101 मा टेलिफोन सम्पर्क गर्न आह्वान गरिएको छ।
त्यस्तै, अनलाइनमा यो लिंकमा क्लिक गरेर पनि जानकारी पेश गर्न सकिनेछ ।
आफ्नो परिचय पूरै गोप्य राखेर पनि 0800 555 111 मा टेलिफोन सम्पर्क वा अनलाइन फाराम crimestoppers-uk.org मा अनलाइन फारम भरेर पनि जानकारी गराउन मिल्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५