आइतबार, पुष २८, २०८१
07:48 | १३:३३

नेपाली भिलेज यूके टोलीले भेट्यो परराष्ट्रमन्त्री

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२३

लन्डन । बेलायतको वेल्समा नेपाली गाउं बनाउने महत्वकांक्षी परियोजना नेपाली भिलेज यूकेको टोलीले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई मंगलबार काठमाडौंमा भेटघाट गरेको छ ।

परियोजनाका म्यानेजिङ डाइरेक्टर मेजर खुसीमान गुरुङ एमभिओ, बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन यूकेका अध्यक्ष एवं मेयर डेभिड मेरिडिथसहितको टोलीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर मन्त्री पौड्याललाई भेटेको हो ।

उनीहरुले मन्त्री पौड्याललाई नेपाली भिलेज यूके र बेक्रन–धुम्पुसको भगिनी सम्बन्धबारे जानकारी दिएका थिए । सन् २०१९ मा कास्कीको माच्छापुच्छ्रे गाउँपालिकाको धम्पुस र बेलायतको ब्रेकन सहरबीच भगिनी सम्बन्ध स्थापित भएको थियो ।

भेटमा परियोजनाका निर्देशकहरु मानप्रसाद गुरुङ, जसु गुरुङ मसेन्स र मन्जु गुरुङ, बेक्रन–धम्पुस टुइनीङ एसोसिएसन नेपालका अध्यक्ष एवं कास्कीको माच्छापुच्छ्रे गाउँपालिका– ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारी सहभागी थिए ।

मन्त्री पौड्यालले बेलायतमा बनाउन लागिएको नेपाली भिलेज सराह्रनीय काम रहेको बताएकी थिइन् । ‘हाम्रो तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं । साथै विदेशमा रहेर पनि नेपालको संस्कार, संस्कृति संरक्षण गर्नु भएकोमा आभार व्यक्त गर्न चाहन्छौं,’ मन्त्री पौड्यालले बताएको म्यानेजिङ डाइरेक्टर मेजर गुरुङले जानकारी दिए ।

उनका अनुसार नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अघि सारिएको नेपाली भिलेजका लागि २४ एकर जग्गा खरिद गरिसकिएको छ ।

नेपाली भिलेज यूकेले नेपाली गाउं बनाउने महत्वकांक्षी परियोजनाका लागि चार बेडरुम घरसहितका संरचनाहरु रहेको २४ एकर (लगभग १९० रोपनी) जग्गा खरिद गरेको हो । सो को मूल्य ९ लाख ४० हजार पाउण्ड (करिब १६ करोड रुपैयां) छ ।

उक्त घरजग्गा वेल्सस्थित ब्रेकन टाउनबाट ८ माइलको दूरीमा छ । परियोजनामा हालसम्म २२७ जना शेयरधनी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू