आइतबार, पुष २८, २०८१
08:10 | १३:५५

पोखरा विमान दुर्घटनाका मृतकको स्‍मृतिमा लन्डन ग्रीनवीच बरोमा श्रद्धाञ्जलीसभा

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२३


लन्डन- एक महिनाअघि पोखरामा भएको दु:खद विमान दुर्घटनामा शोक जनाउंदै लन्डनको ग्रीनवीच बरोमा एक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

रोयल बरो अफ ग्रीनवीचद्वारा वुल्लीच टाउन हलमा शुक्रबार साँझ आयोजित कार्यक्रममा बरोका मेयर, काउन्सिलरहरुका साथै उल्लेख्य संख्यामा स्थानीय नेपाली समुदायका अगुवाहरुले सहभागिता जनाए। 

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रीनवीच बरोका मेयर लियो फ्लेचरले नेपालमा भएको दु:खद दुर्घटनाप्रति बरोका तर्फबाट शोक र मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे।  

नेपालले भोगेको कहालीलाग्दो दुर्घटनापछि शोकमा डुबेका पीडित परिवार र सम्पूर्ण नेपालीहरुको साथै बरोबासी नेपाली समुदायप्रति समेत उनले सहानुभूति व्यक्त गरे । 

लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले नेपाल र नेपालीलाई दु:ख परेका बेला संगसंगै उभिएकोमा ग्रीनवीच बरोलाई धन्यवाद ज्ञापन गरिन्।

ठूलो संख्याका नेपालीहरुको बसोबास रहेको ग्रीनवीच बरोका तर्फबाट प्राप्त सद्भाव र सहानुभूतिले नेपाल र बेलायतबीचको सदियौँको मित्रतालाई थप घनिष्ठ बनाउन सहयोग गर्ने उनको विश्वास थियो।

कार्यक्रम संयोजन गर्ने रोयल बरो अफ ग्रीनवीचका काउन्सिलर जीत रानाभाटले सहभागी सबैप्रति आभार प्रकट गरे। नेपालले सामना गरेको दु:खद दुर्घटनाको बेला ग्रीनवीच बरोका तर्फबाट व्यक्त सहानुभूति र ऐक्यबद्धताले बरोमा बस्ने सबै नेपालीलाई गौरवान्वित गराएको उनले बताए।  

सो अवसरमा बेलायती सेनाका रिटायर्ड कर्णेल टोल खाम्चा, ग्रीनवीच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेकेलगायतले श्रद्धाञ्जली व्यक्त गर्दै ग्रीनवीच बरोमा नेपाली समुदायको गौरव गर्न लायक सहभागिता, बेलायत- नेपालबीचको दुई शताब्दी लामो मैत्री सम्बन्धलगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारण गरिएको थियो भने शोकसन्तप्त सबै परिवारहरुमा समवेदना प्रकट गरिएको थियो।

पशुपतिनाथ मन्दिर लन्डनका पण्डित निलहरि घिमिरेले स्वस्तीवाचन गरी मृत आत्माहरुको शान्तिको लागि प्रार्थना गरेका थिए।  

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय हिन्दू, बुद्धिष्ट, शिख, मुस्लिम, क्रिश्चियनलगायतका बहुधार्मिक समुदायका धर्मगुरुहरुले पनि आ-आफ्नो संस्कारअनुसारको मन्त्रोच्चारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा कलाकार अंशु केसीले भजन तथा कविताको सांगीतिक प्रस्तुति गरेकी थिइन् भने अभियन्ता राजन खकुरालले बांसुरीवादनमार्फत् सबैलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमका सहभागीले पोखरा दुर्घटनालगत्तै ग्रीनवीच बरोले राखेको शोक पुस्तिकामा समेत हस्ताक्षर गरेका थिए। 

तस्विर: रोयल बरो अफ ग्रीनवीच

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू