आइतबार, पुष २८, २०८१
10:40 | १६:२५

बेलायतमा गैर आवासीय नेपालीको सम्पत्तिको स्वामित्व, उपभोग र अधिकारबारे अन्तरक्रिया

नेपाली लिङ्क फ्रेब्रवरी ७, २०२३


लन्डन । एनआरएनए यूकेले ‘गैर आवासीय नेपालीहरुको सम्पत्तिको स्वामित्व, उपभोग तथा अधिकार’ सम्बन्धमा एक अन्तरक्रिया गरेको छ ।

नेपालबाट आएका वरिष्ठ कानूनवीदहरुको सहभागितामा बेलायतको नटिङहममा सोमबार उक्त कार्यक्रम भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले विदेशमा रहेका नेपालीको दोश्रो पुस्तालाई बचाउन नसके नेपालले ठूलो घाटा बेहोर्ने उल्लेख गर्दै उनीहरुलाई नेपाल आउने ढोका बन्द नगर्न आग्रह गरे । 

‘विदेशबाट सीप, प्रविधि र लगानी ल्याउन नेपालको राज्यले मार्ग प्रशस्त गर्नुपर्छ’, उनले भने । उनले विदेशी नागरिकता लिएका नेपालीलाई आवतजावत र सम्पत्ति खरिदमा कानूनी प्रक्रिया पुरा गर्न पनि आग्रह गरे । 

उनले वंशजको नागरिकता निरन्तरता अभियान थाती राखेर अहिले गैर आवासीय नेपाली नागरिकता पारित गराउन एसोसिएसनले दवाव दिने आश्वासन पनि दिए ।  

अर्का वक्ता नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जुन देशको नागरिकता छ, त्यो देशको कानून लागू हुने बताए। ‘विदेशी नागरिकता त्याग गर्नेले नेपालको कानून फलो गर्नु पर्छ तर नागरिकता कायम नरहनेहरुले फलो गर्नु पर्दैन’, उनले भने, ‘रवि लामिछानेको केस त्यही हो । नेपालमा नागरिकता पुनप्र्राप्ति गर्न विदेशी नागरिकता छोडेको प्रमाण पेश गर्नुपर्छ ।’

भारतसंगको खुला सिमानाका कारण नागरिकताको विषय अलिक जटिल बनेको बताउंदै वरिष्ठ अधिवक्ता पोखरेलले सार्क बाहेकका मुलुकमा बस्ने नेपालीहरुलाई नागरिकता दिने प्रावधान संविधानमै रहेको स्मरण गरे। ‘गैर आवासीय नेपाली नागरिकता ऐनबारे नेपालमा कुनै विवाद छैन। सक्नु हुन्छ भने छुट्टै पारित गराउनोस्’, उनले भने । 

नेपालमा गैरआवासीय नेपाली नागरिकता ऐन ल्याउंदा संक्रमणकालिन अवधि उल्लेख गर्न उनले सुझाव दिए । ‘त्यसमा भूतदर्शी प्रावधान पनि राख्न मिल्छ’, पोखरेलको धारणा थियो ।  


कार्यक्रममा एनआरएनए अध्यक्ष कुल आचार्यले रवि लामिछानेको मुद्दामा सर्वोच्चको फैसलापछि विदेशमा रहेका आम गैर आवासीय नेपालीमा चिन्ता र चासो बढेको बताए ।

उनले गैर आवासीय नेपाली नागरिकता प्रमाणीकरण हुन विभिन्न चलखेल भएपनि यो छिट्टै पारित हुने आशा व्यक्त गरे । ‘पैत्रिक सम्पत्तिको अधिकार सुरक्षित राख्न हामी सबैले लबी गरेर छिटो नागरिकता प्राप्त गरौं’, अध्यक्ष आचार्यले आग्रह गरे । 

उनले देश विकास र चलायमान बनाउन बाहिर बस्ने नेपालीलाई साझेदार बनाउन सरकारलाई अपिल पनि गरे ।

प्रश्नोत्तरसहितको उक्त कार्यक्रममा एनआरएन अभियन्ताहरु नारायण फुंयाल, केशव भण्डारी, कृष्ण गुरुङ, रणबहादुर केसी, दयानिधि सापकोटा, शिवजी श्रेष्ठ, दीपक भट्टराई, रविन्द्र शर्मा, माया प्रधान लगायतले आ-आफ्नो धारणा राखेका थिए ।  

एनआरएनए यूके अध्यक्ष सुनिलबाबु खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम एनआरएनए यूके उपाध्यक्ष नारायण कंडेलको संयोजनमा भएको हो ।


कार्यक्रमका अवसरमा उपाध्यक्ष कंडेलकै परिकल्पनामा एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

बेलायत बस्ने गैर आवासीय नेपालीहरुलाई पर्ने सम्पत्ति सम्बन्धी कानूनी समस्याको प्रारम्भिक कानूनी परामर्श निशुल्क रुपमा दिन एसोसिएसनले सघाउने गरि सहमति भएको हो । नेपाल बारका नेपालभर झन्डै २१ हजार कानून व्यवसायी सदस्य छन् । 

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष गोविन्द खरेलले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन सचिवहरु ज्ञानेन्द्र आले र विष्णु चालिसेले गरेका थिए ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू