आइतबार, पुष २८, २०८१
04:17 | १०:०२

पाँचबुँदे शान्ति योजना पालना गर्न म्यान्मालाई आग्रह

रासस/एएफपी फ्रेब्रवरी ४, २०२३

जकार्ता, २१ माघ–दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) का मन्त्रीहरूले म्यान्मालाई पाँचबुँदे शान्ति योजना पालना गर्न आग्रह गरेका छन् । इण्डोनेसियामा शनिबार भएको दुईदिने वार्ताको अन्त्यमा उनीहरूले म्यान्माको राजनीतिक संकट अन्त्य गर्न दुई वर्षअघि सहमति जनाइएको शान्तिको मार्गचित्र कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको इण्डोनेसिया यो वर्ष दश सदस्यीय संगठनको अध्यक्ष हो । यो वर्ष इण्डोनेसियाले संगठनको वार्षिक बैठक गर्नेछ । जकार्तामा भएको आसियानका मन्त्रीहरूको यो बैठकलाई नागरिक सरकारलाई सत्ताच्युत गरेर सेनाले म्यान्माको शासनसत्ता कब्जा गरेदेखि अशान्त त्यहाँको स्थितिले ओझेलमा पारेको छ ।

म्यान्मामा हिंसा अन्त्य गरी वार्ताको माध्यमबाट शान्ति स्थापना गर्न इण्डोनेशियाको अगुवाईमा पाँचबुँदे शान्ति योजना अघि सारेको थियो । उक्त योजनाप्रति सबै आसियान सदस्य राष्ट्रले सहमति पनि जनाएका थिए ।

म्यान्माको सैनिक सरकारसमेत सहमत भएको शान्ति प्रस्ताव अविलम्ब कार्यान्वयन हुनुपर्नेमा बैठकले जोड दिएको छ । म्यान्माको अवस्थालाई संयुक्तरूपमा सम्बोधन गर्न आसियानको अध्यक्ष राष्ट्रले गरेको प्रस्ताव कार्यान्वयनबाटै आसियानको एकता प्रतिविम्बित हुनेछ ।

म्यान्मा आसियानको सदस्य भए पनि शान्तिस्थापनाको कार्ययोजना कार्यान्वयन नगर्दा उसलाई बैठकमा सहभागी गराइएको छैन । यसै साता नियुक्त भएका म्यान्माका विदेशमन्त्री पनि बैठकमा सहभागी भएनन् । शान्ति योजना कार्यान्वयन गर्न इण्डोनेशियाले विदेशमन्त्रालयअन्तर्गत तल्लो तहमा म्यान्माको सैनिक सरकारसँग वार्ता गर्न विशेषदूत नियुक्त गर्ने योजना बनाएको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू