आइतबार, पुष २८, २०८१
22:54 | ०४:३९

काठमाडौँ महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड

रासस जनवरी २६, २०२३

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।

विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।

महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रू पाँच सय शुल्क निर्धारण गरेको छ ।

त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रू एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट रू एक हजार शुल्क निर्धारण गरेको छ ।

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ ।

विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ ।

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुससम्म रु ३१ करोड ४२ लाख असूल उपर गरेको डा अधिकारीको भनाइ छ ।

लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ ।

महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असूल हुन थालेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू