विषाक्त मदिरा सेवनबाट ८ को मृत्यु


नयाँदिल्ली-भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ ।
मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ ।
विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो ।
बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको छ ।
मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ ।
हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’ बाट नक्कली मदिरा उत्पादन गरिएको विहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताए ।
विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ । विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ ।
गत महिना विषाक्त मदिरा सेवनबाट विहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५