सोमबार, मंसिर १०, २०८१
13:14 | १८:५९

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण दिइने

रासस/ एएफपी जनवरी १८, २०२३

ताइवानी सैनिक एक अभ्यासमा । तस्बिर- एएफपी

ताइपेइ, ४ माघ–ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ ।

पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ । चीनबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरी महिलालाई प्रशिक्षणको व्यवस्था गरिएको हो ।

रक्षा मन्त्रालयका अनुसार यसैवर्षको मध्यतिर करिब दुई सय महिलालाई ताइवानको सेनाले तालिम दिनेछ ।

बाह्य आक्रमणको जोखिम बढेकाले आफ्नो सेनालाई बलियो बनाउने प्रयासमा महिलालाई पनि प्रशिक्षणको व्यवस्था गरिएको उक्त मन्त्रालयले जनाएको छ । इच्छुक महिलाले तालिमका निम्ति आवेदन गर्न सक्नेछन् । तालिममा सहभागी हुने महिलाको सङ्ख्याअनुसार प्रशिक्षण योजना र कार्यक्रम तर्जुमा गरिनेछ ।

हालै ताइवानले पुरुषलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने प्रावधान जारी गरेको छ । यद्यपि महिलाहरू पनि सशस्त्र बलमा स्वयंसेवकका रूपमा सेवा गर्न सक्ने व्यवस्था छ ।

ताइवानी पुरुषले अनिवार्य सैन्य सेवा गर्नुपर्ने चार महिनाको प्रावधानलाई बढाएर एक वर्ष पुरयाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार ताइवानसँग ८९ हजार स्थल सेना छन् भने चीनसँग १० लाख सैनिक छन् ।

गत महिना राष्ट्रपति साई इङ्ग वेनले अनिवार्य सैन्य सेवाको अवधि बढाइएको घोषणा गरेकी थिइन् ।

प्रथम महिला राष्ट्रपतिले गरेको उक्त घोषणाको स्वागत गर्दै केही महिला सांसदले नारीलाई पनि सैन्य तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

भावी पुस्ताका निम्ति लोकतान्त्रिक जीवनशैली सुनिश्चित गर्न सैन्य सेवा विस्तार अपरिहार्य भएको राष्ट्रपतिले बताएकी छन् ।

सन् १९४९ को चिनियाँ गृहयुद्धमा ताइवान र चीन विभाजित भएका हुन् । पहाडी टापु ताइवानलाई चीनले आफ्नो भूमिका रुपमा दाबी गरिरहेको छ भने आवश्यक परे बल प्रयोग गरेर मूलभूमिमा एकीकरण गर्ने बताउँदै आएको छ ।

एक देश दुई शासन पद्धतिअनुरुप बेइजिङले ताइवानमाथि अप्रत्यक्ष रुपमा शासन गर्दै आएको छ । यद्यपि उसले ताइपेइलाई स्वयत्तता प्रदान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू