बेलायतका लागि जासुसी गरेको अभियोगमा इरानी पूर्वमन्त्रीलाई मृत्युदण्ड


दुबई (संयुक्त अरब इमिरेट्स), ३० पुस–इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिएको छ ।
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो ।
इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था ‘एमआई–६’ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिइएको शनिबार घोषणा गरेको हो ।
गत बुधबार परिवारलाई भेट्न कारागारमा जान भनिएको र उनकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएकी थिइन् ।
अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो तर उनले सबै आरोप अस्वीकार गरेका थिए ।
बेलायतले इरानलाई मृत्युदण्ड रोक्न र उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो ।
बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिकरूपमा प्रेरित काम भएको टिप्पणी गरेका छन् ।
अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिकरूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको अमेरिकाले बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५