आइतबार, पुष २८, २०८१
01:59 | ०७:४४

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

विपक्षमा दुई मत

रासस जनवरी १०, २०२३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।

बैठकमा पाँच जना सांसद अनुपस्थित र कूल दुई सय ७० सांसद उपस्थित थिए । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणाम सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित रहे । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा थिए भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल …’प्रचण्ड’ प्रतिनिधिसभामा मङगलबार विश्वासको मत प्राप्त भएपछि अभिवादन गर्दै । तस्बिर- रासस

प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू