आइतबार, पुष २१, २०८१
18:50 | ००:३५

तमु समाज यूकेले मनायो ल्हो हि ल्होछार

नेपाली लिङ्क जनवरी १०, २०२३

लण्डन। तमु समाज यूकेले ल्हो हि ल्होछार भव्य रुपमा मनाएको छ ।

तमु समाज यूकेले ल्होछारलाई यस बर्ष ३१ डिसेम्बरमा ग्रह शान्ति पूजा र ७ जनवरीमा सामाजिक तथा सांस्कृतिक कार्य गरी दुई चरणमा मनाएको हो ।

पश्चिम लन्डनको ह्यारो लिजर सेन्टरमा विभिन्न मनोरञ्जन तथा जानकारीमुलक कार्यक्रमका साथ उक्त पर्व मनाउन सयौं    सहभागी भए ।

तमु अर्थात गुरुङहरुको वर्ग फेर्ने दिन जसलाई ल्होछार/ल्होसार भनिन्छ, र विभिन्न १२ वटा जनावर वा पन्छीहरुको नामबाट सांकेतिक रूपबाट नामाकरण गरिने वर्गलाई ल्हो भनेर चिनिन्छ । यस वर्ष बाघ वर्गलाई विदाई गर्दै बिरालो वर्गको आगमनको स्वागत गर्न हि ल्होछार/ल्होसार मनाइयो । 

कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावासकी नियोग उपप्रमुख श्रीमति रोशन खनाल, विशिष्ट अतिथिहरु पूर्व मेयर तथा काउन्सिलर बिष्णु बहादुर गरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ र निबर्तमान अध्यक्ष हित काजी गुरुङ, गैर आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगर, काउन्सिलर सकिब बट, काउन्सिलर कमल गुरुङ, काउन्सिलर जित रानाभाट, तमु प्ये ल्हु संघ यूके अध्यक्ष रन बहादुर गुरुङ, साहारा यूके अध्यक्ष लेप्टेनेन्ट कुसाङ गुरुङ थिए ।

त्यसै गरी यूकेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्व, पत्रकारहरु, तमु समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ देखि सबै पूर्व अध्यक्ष र सल्लाहकारहरु पनि थिए।


औपचारिक कार्यक्रम बेलुका ६ बजे प्रमुख अतिथि श्रीमति रोशन खनाल र तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ भएको थियो ।

कार्यक्रममा महासचिव धरमबल गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रिफ गरे भने अध्यक्ष शिव कुमार गुरुङले सारांशमा समाजले आजसम्म गरेका विभिन्न उपलब्धि र समाजको चिनारी दिँदै स्वागत गरे ।

प्रमुख अतिथि उपनियोग प्रमुख श्रीमति रोशन खनालले पनि धन्यबादसहित शुभकामना दिइन् ।

कार्यक्रमलाई समाजकै एक सदस्य निरज गुरुङ र सुश्री महान्त गुरुङले व्यवसायिक रूपमा सञ्चालन गरेका थिए भने औपचारिक कार्यक्रमको बीचमा कोरियोग्राफर श्रीमति सरु गुरुङ राना र समाजका उपाध्यक्ष तथा श्रीमति बिन्दु घलेको संयोजकत्वमा गरिएका नृत्यहरुले रौनक थपेको थियो । सरु स्वयं आँफैले पनि नृत्य गरेर कार्यक्रममा आकर्षण थपेकी थिइन्।


कार्यक्रममा अहोरात्र खटिएर समाजलाई योगदान दिने सदस्यहरुलाई प्रदान गरिने ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, पूर्व उपाध्यक्ष श्रीमती रेणु माया गुरुङ, सुश्री बिजु गुरुङ र पूर्व कोषाध्यक्ष उदय गुरुङलाई प्रदान गरियो । 

त्यस्तै गरी समाजलाई अतुलनीय योगदान दिएकोमा समाजबाट दुई र समाज बहिरका दुईजना ब्यक्तित्वलाई यस बर्ष तमु समाज यूकेले उत्कृष्ट समाज सेवा सम्मान पत्र २०२३ प्रदान गरेको छ । 


उक्त सम्मानबाट सल्लाहकार लेप्टेनेन्ट थम प्रसाद गुरुङ, सल्लाहकार हितमान गुरुङ, पत्रकार इन्द्र घोताने गुरुङ र एभरेष्ट क्यास एण्ड क्यारीका प्रोपाइटर आश बहादुर गुरुङ सम्मानित भए। 

साथै कोरोना महामारीको समयमा सामाजिक सेवाका बिभिन्न कार्य गरेर अतुलनीय योगदान पुरयाएकोमा सामाजिक अभियन्ता पार्वती गुरुङ पनि सम्मानित भइन् । 

प्रमुख अतिथि नियोग उपप्रमुख श्रीमति रोशन खनालबाट लाइफ टाइम अचिभमेन्ट अवार्ड’, उत्कृष्ट समाज सेवा सम्मान पत्र र समाज सेवा प्रसंसा पत्र प्रदान गरिएको थियो।

त्यस्तै यस वर्ष विभिन्न यूनिभर्सिटीबाट पढाई सकेका समाज आवद्द सदस्यहरूका सन्तान, समाजको आजीवन सदस्यता लिएका नयाँ सदस्यहरू र समाजका आफ्नै कलाकारलाई अध्यक्ष शिवकुमार गुरुङ र विशिष्ठ अतिथि काउन्सिलर सकिव बटले सम्मान गरे ।


औपचारिक कार्यक्रमको अन्तमा वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङले अतिथिलगायत प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेर कार्यक्रम सफल पारिदिने सबैलाई धन्यवाद दिए ।

त्यसपछि नेपालबाट कार्यक्रमका लागि बेलायत आएका लोक प्रिय कलाकार पृथ्वीमान गुरुङ र गायिका जुना श्रीष मगरले गीत गाएर दर्शकहरुलाई भरमग्दुर मनोरञ्जन दिलाएका थिए। 

स्वादिष्ट भोजन, विभिन्न गीत नृत्य र जानकारीमूलक कार्यक्रमको आनन्द लिँदै राती १२:३० तिर ल्होछार/ल्होसार अन्त भएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू