आइतबार, पुष २८, २०८१
14:04 | १९:४९

लन्डनमा मनाइयो राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

नेपाली लिङ्क जनवरी ९, २०२३

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आइतबार लन्डनमा ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।

लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट हलमा समितिका कार्यकारी सभापति महेशकुमार दाहालको सभापतित्वमा कार्यक्रम भएको हो ।

पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष नेपाल कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गर्दछ।

यसै सन्दर्भमा नेपाली जनसम्पर्क समिति बेलायतले पनि एक अन्तरक्रिया कार्यक्रम गरी मेलमिलाप दिवस मनाएको हो ।


कार्यक्रममा प्रमुख अतिथी बाग्मती प्रदेश सरकारका भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेलले वीपीले १८ महिना प्रधानमन्त्री हुंदा देश र जनताका लागि धेरै महत्वपूर्ण काम गरेको स्मरण गर्दै अहिले एकपटक कुर्सी पाएपछि कहिल्यै नछोड्ने प्रवृत्ति नेताहरुमा बढ्दै गएको यथार्थ सुनाए ।

मन्त्री पौडेलले कार्यकर्तामा व्यापक निराशा छाएकाले कांग्रेसमा एकता र सुदृढीकरण अत्यावश्यक भएको पनि औंल्याए ।

उनले नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहाललाई शुभकामना दिंदै बेलायत कांग्रेसलाई एक ढिक्का बनाएर महान नेता बन्न सुझाव पनि दिए ।

कांग्रेस वरिष्ठ नेता, ५ औं अधिवेशन निर्वाचन समितिका संयोजक एवं सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाले विधिको शासन भएको देशमा बसेर विधि विपरित नजान समितिका पदाधिकारीलाई अनुरोध गरे ।

सबै समस्याको जड ‘म’ भन्ने भएर आएको जनाउंदै डा. ढुंगानाले म होइन हामी भनेर वहुमतको कदर गर्न पनि सुझाव दिए ।

समितिको विधान समिति संयोजक शिवजी श्रेष्ठले वीपीको राष्ट्रिय मेलमिलाप नीति बेलायत कांग्रेसमा समेत आवश्यक भएको जनाउंदै नेतृत्व चलायमान हुनुपर्नेमा जोड दिए ।

पूर्व सभापति तथा समितिका पांचौं अधिवेशन केन्द्रिय पर्यवेक्षक लोक गुरुङले कार्यकारी सभापति दाहाललाई शुभकामना दिंदै बाहिरिएकालाई एकै ठाउंमा ल्याउन सुझाव दिए । उनले कार्यक्रम गर्दै गए असन्तुष्ट साथीहरु पनि जोडिने धारणा समेत राखे ।

कार्यक्रममा निर्वाचन समिति संयोजक, विधान समिति संयोजक र केन्द्रिय पर्यवेक्षक तीनै जनाले बेलायतका केही पदाधिकारीमा कार्यकारी सभापति को भन्ने अन्यौल जस्तो देखिएपनि यहां विवादको विषय नरहेको र यो पांचौं अधिवेशनले निर्णय गरेर अनुमोदित भइसकेको स्पष्ट पारेका थिए ।

मन्तव्यका क्रममा कार्यकारी सभापति महेश कुमार दाहालले छिट्टै कार्यसमिति बैठक राखी संगठन विस्तार गर्ने र कार्यदलमार्फत सबैलाई समेटेर लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले बेलायतको मिडल्याण्डसहित विभिन्न क्षेत्रीय समितिको अधिवेशन गराउने पनि बताए । दाहालले समितिलाई अर्कै उचाईंमा लैजाने प्रण समेत गरे ।

उक्त कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, समितिका सल्लाहकार, पूर्व महामन्त्री तथा वौद्धिक व्यक्तित्व राजकुमार (आर के) त्रिपाठी, एनआरएनए यूके पूर्व महासचिव एवं समितिको विदेश विभाग समन्वय समितिका पूर्व सदस्य अर्जुन कटुवाल, पूर्व महामन्त्री तथा समितिको ५ औं अधिवेशन निर्वाचन समितिका सदस्य केशव भण्डारी लगायत वक्ताहरुले कार्यकारी सभापति महेशकुमार दाहालको सफल कार्यकालको शुभकामना दिएका थिए ।


महामन्त्री कुश बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा समितिका नेता तथा एनआरएनए यूके पूर्व संरक्षक शेरबहादुर सुनार, समितिका सल्लाहकार चिरन्जिवी ढकाल, व्यवसायी तथा समाजसेवी कमल पौडेल, समितिका पूर्व उपसभापति विजन भट्ट, नेपाल प्रेस युनियन युरोप संयोजक सन्जय कंडेलले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए यूके प्रवक्ता शशांक शर्मा, सचिव सपना खनिया, सहकोषाध्यक्ष उपेन्द्र पौडेल, काउन्सिलर तथा समितिका उपसभापति प्रवेश केसी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि आलेख चौहान, समितिका पूर्व उपसभापति सुरज केसी, पूर्व सहमहामन्त्री डा. मीन रानाभाट, एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष शरद शाही लगायत जनसम्पर्क समितिका सदस्यहरु, एनआरएनए अभियन्ता एवं कांग्रेस शुभचिन्तक गरि करिब ७ दर्जन सहभागी थिए ।

कार्यक्रममा समितिका उपसभापति राज सिटौलाले स्वागत मन्तव्य दिएका थिए ।


सन् २०२१ नोभेम्बर २७ मा भएको ५ औं अधिवेशनले चक्रीय प्रणाली अन्तर्गत चारजनालाई एक एक वर्ष कार्यकारी सभापति दिने गरि सहमतिमा निर्णय गरेको थियो ।

सो निर्णयलाई निर्वाचन समिति, विधान समिति र केन्द्रिय पर्यवेक्षक समेतले अनुमोदन गरेर नेपाली कांग्रेस केन्द्रिय कार्यालयलाई जानकारी गराइएको थियो । 

सोही अधिवेशनबाट छानिएर नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा भाग लिन बेलायतबाट १४ जना महाधिवेशन प्रतिनिधि नेपाल गएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू